वानएक्स-बेटको प्रचार गरेका कलाकार विरुद्ध मुद्दा दर्ता
सट्टेबाजीको विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकारलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
बल्छी धुर्वे नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट परिचित पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बूढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले अनलाइन बेटिङ वानएक्स-बेटको प्रचार गरेको आरोपमा जेठ ३२ गते पक्राउ गरेको थियो।
कलाकार कुशल पोखरेल भने फरार छन्। उनीहरूले आफ्नो यूट्युब च्यानल मार्फत अवैध सामग्रीको प्रचार गरेको अभियोग छ।
उनीहरूलाई विज्ञापन नियमन ऐन अनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ। उनीहरूले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख छ।
उनीहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र ब्यांंक ऐन अनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ। खड्का र धितालले सट्टेबाजीका साथै क्रिप्टोकरेन्सीमा समेत कारोबार गर्ने गरेको अभियोग लगाइएको छ।
उनीहरूले राष्ट्र ब्यांकबाट इजाजत नलिई कारोबार गरेका थिए। दुवै जनाबाट ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउन समेत माग गरिएको छ। राष्ट्र ब्यांक ऐनको दफा ९६ मा अनुमति विना कारोबार गरेमा बिगोको तीन गुणा जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
उनीहरूलाई फौजदारी कसूरमा समेत सजाय माग गरिएको छ। कसूरको प्रमाण दबाउन खोजेको भन्दै थप तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गरिएको छ भने एकीकृत कसूरमा पनि सजाय माग गरिएको छ।
खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाडौंको मैजुबहालबाट पक्राउ गरेको थियो। उनीहरूले मोबाइल, ल्यापटप फुटाएर प्रमाण नष्ट गर्न खोजेको प्रहरीको अभियोग छ। पक्राउ गरेर टेकु लैजाँदा समेत खड्काले ३३ वटा सिमकार्ड चपाएर नष्ट गरेको अभियोगपत्रमा उल्लेख छ।
दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ। यी दुई जनाको बयानका आधारमा हास्यकलाकार पक्राउ परेका हुन्।