शीर्ष नेताबीच संसद्को अवरोध हटाउन सहमति
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच संसद्को अवरोध हटाउने सहमति भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको शीर्ष नेताको बैठकमा संघीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको हो।
शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्मा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा प्रस्टीकरण दिने भएका छन्।
आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम छ।
शीर्ष नेताको बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए। -रासस