चीनको पूर्व प्राथमिक विद्यालयमा आक्रमण, तीन विद्यार्थी सहित ६ जनाको मृत्यु
मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी छन्।
दक्षिणी चीनको कुवाङतोङ प्रान्तको एक पूर्व प्राथमिक (किन्डरगार्डेन) विद्यालयमा सोमबार आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
आक्रमण लियानचियाङ शहरमा भएको थियो। मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी छन्। आक्रमणमा मारिएकाहरूको पहिचान लगायत विवरण खुलाइएको छैन। अल्जजीरा लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा छुरा प्रहार भएको थियो।
“घटनामा संलग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” स्थानीय सरकारकी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।
स्थानीय प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार वु थर गरेका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ। चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समय अनुसार बिहान ७:४० बजे उक्त घटना भएको हो।
पछिल्लो समय चिनियाँ विद्यालयमा आक्रमणका घटना बढेका छन्। गत अगस्टमा मात्रै चियाङछी प्रान्तको एक नर्सरी स्कूललाई लक्षित गर्दै भएको आक्रमणमा तीन जना मारिएका थिए।