सभामुखको हस्ताक्षरमा गठित सरकार विरुद्धको रिट माथेमाको इजलासमा
प्रदेश सभामुख बाबुराम गौतमको हस्ताक्षरमा बनेको कोशी प्रदेश सरकार विरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले दर्ता गरेको रिट न्यायाधीश माथेमाको इजलासमा परेको हो।
असार २१ मा नेपाली कांग्रेसका उद्धव थापा सभामुख गौतमको हस्ताक्षर लिएर मुख्यमन्त्री बनेका थिए। संविधान र अन्य प्रचलित कानूनले भने सभामुखलाई कुनै पनि दलको मामूली कार्यकर्ता बनेर सरकार गठनको जोडघटाउमा लाग्ने अधिकार दिएको छैन।
सभामुख गौतमले त्यही अधिकार दुरुपयोग गरेको भन्दै एमालेले अदालत गुहारेको हो। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतम र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।