स्पेनका दिग्गज फूटबलर लुइस सुआरेजको निधन
दुई वटा च्याम्पियन्स लिग, दुई वटा इन्टरकन्टिनेन्टल कप, एउटा यूरो कप र एउटा बलोन डी ओर जितेका लुइस सुआरेज मिरामोन्तेस कुनै समय विश्वकै महँगा खेलाडी पनि थिए।
स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको निधन भएको हो।
मिरामोन्तेस फूटबलका ‘प्याकेज’ मानिन्थे। मिरामोन्तेसले सन् १९६० मा वर्षको सर्वोत्कृष्ट फूटबलरले पाउने ‘बलोन डी ओर’ पुरस्कार प्राप्त गरेका थिए। उनले सर्वकालीन महान् खेलाडी मानिने रियल मड्रिडका फेरेङ्क पुस्कासलाई पछि पार्दै बलोन डी ओर जितेका थिए। मिरामोन्तेस हालसम्म बलोन डी ओर जित्ने स्पेनका एक मात्र पुरुष खेलाडी हुन्।
उनले सन् १९५४ देखि १९६१ सम्म सात वर्ष फूटबल क्लब बार्सिलोनाबाट खेले। यस क्रममा उनले बार्सिलोनालाई दुई वटा ला लिगा उपाधि जिताए। बार्सिलोनाका लागि २५३ खेलमा उनले १४१ गोल गरे।
मिरामोन्तेसले इटालियन क्लब इन्टर मिलानबाट पनि खेले। सन् १९६१ मा बार्सिलोनाले उनलाई एक लाख ४२ हजार पाउन्डमा इन्टर मिलानलाई बेचेको थियो। त्यति वेला उनी सर्वाधिक महँगा खेलाडी पनि बनेका थिए। त्यो एक लाख पाउन्डमाथिको पहिलो ‘ट्रान्सफर’ पनि थियो।
‘दी आर्किटेक्ट’ उपनाम पाएका मिरामोन्तेसले नौ वर्ष इन्टर मिलानबाट खेले। त्यस क्रममा उनले मध्यपङ्क्तिको खेलाडीका रूपमा ३२८ खेलमा ५५ गोल गरे। इन्टर मिलानबाटै उनले दुई वटा यूरोपियन कप (च्याम्पियन्स लिग) र दुई वटा इन्टरकन्टिनेन्टल कप जिते।
खेलाडी जीवनबाट प्रशिक्षक जीवनमा फड्को मार्नुअघि उनले तीन वर्ष साम्पडोरियाबाट खेले।
स्पेनको राष्ट्रिय टोलीबाट उनले ३२ खेलमा उपस्थिति जनाउँदै १४ गोल गरे। उनी १९६२ र १९६६ को विश्वकपमा पनि सहभागी भएका थिए। उनले सन् १९६४ मा स्पेनिश टोलीबाट यूरो कप समेत जिते।
उनले सन् १९७३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिए। सन्न्यासपछि उनले १९८८ देखि १९९१ बीचमा स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा पनि काम गरे।