७६ जिल्लामा ‘लम्पी स्किन’ को महामारी, एक खर्ब २६ अर्बको क्षति हुने अनुमान
दशकौंपछि गाईभैंसीमा देखापरेको महामारीले देशभरिका किसानलाई पिरोलेको छ। तर, महामारी नियन्त्रणका लागि सरकारको प्रयास भने सुस्त छ।
काठमाडौंको काभ्रेस्थलीका दीपक अधिकारीले पालेका चार वटा गाई पछिल्लो एक महीनाको बीचमा लगालग मरे। दूध दिइरहेका ती गाई छालामा ठूला-ठूला गिर्खा निस्किएको केही दिनभित्रै मरेका थिए। खासमा देशैभरि फैलिएको ‘लम्पी स्किन’ रोगको प्रकोपमा परेका थिए ती। अधिकारीले आफूलाई कम्तीमा चार लाख रुपैयाँ नोक्सान परेको बताए। ती गाईले दिने दूध बेच्दा हुने फाइदा पनि अधिकारीले गुमाएका छन्। विडम्बना यो प्रकोप यसरी फैलिएको छ, अधिकारी जस्ता कतिपय ग्वालाको त गोठै रित्तो हुनेगरी गाई-गोरु मरिरहेका छन्।
गत चैतयता तीव्र गतिमा फैलिएको ‘लम्पी स्किन’ रोगले महामारीको रूप लिंदा गाई-भैंसी पाल्ने देशैभरका किसान अत्यासमा परेका छन्।
पशुसेवा विभागका अनुसार मनाङ बाहेक देशका सबै जिल्लामा लम्पी स्किन रोगको महामारी फैलिइसकेको छ। यो महामारीमा सात लाख ५५ हजार ६९१ पशु संक्रमित भइसकेका छन्, जसमध्ये २६ हजार ५५९ पशुको ज्यान गएको छ। संक्रमित चार लाख ९० हजार पशु निको भएका छन्। बचेका पशु पनि तङ्ग्रिन समय लाग्ने भएकाले तिनबाट हुने दूध उत्पादन घटेको छ।
‘नेपाल पशु चिकित्सा परिषद्’ ले महामारीका कारण अहिलेसम्ममा ३७ अर्ब १३ करोड रुपैयाँको आर्थिक क्षति भइसकेको अनुमान गरेको छ।
परिस्थिति परिषद्ले महामारीको विषयमा गरेको अनुमान जस्तै डरलाग्दो छ। अहिलेकै गतिमा महामारी बढ्दै गए र रोकथाम गर्न नसकिए २५ लाख २६ हजार पशुमा संक्रमण फैलिएर एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको क्षति हुने परिषद्ले आकलन गरेको छ। यो रकम देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २.३ प्रतिशत हो।
“यो निकै गम्भीर महामारी हो,” परिषद्का प्रवक्ता मनोजकुमार शाही भन्छन्, “गगौटी भनिने रिन्डरपेस्ट रोगले ५-६ दशक अगाडि देशभरिका गाईवस्तु सखाप भएका थिए। त्यसयताकै ठूलो महामारी यो वर्ष देखा परेको हो।”
सन् १९४० को दशकमा देखापरेर सन् १९६० को दशकमा देशव्यापी बनेको उच्च मृत्युदर रहेको गगौटी रोगका कारण देशका लाखौं पशु मरेका थिए। सन् १९९० को दशकयता भने यो रोग देखिएको छैन।
अनियन्त्रित महामारी
नेपालमा पहिलो पटक २०७७ साउनमा मोरङमा देखापरेको लम्पी स्किन रोगको संक्रमण विस्तार दुई वर्षसम्म सुस्त थियो। पछिल्लो पटक २०७९ चैतमा कोशी प्रदेशका गाईबस्तुमा देखापरेर संक्रमण क्रमशः पश्चिमतिर फैलन थालेपछि अनियन्त्रित गतिमा बढ्न थाल्यो। पशु सेवा विभागका अनुसार अहिलेसम्म संक्रमण पुष्टि भएकामध्ये एकचौथाइभन्दा धेरै कोशी प्रदेशका छन्। अन्यत्रको तुलनामा मधेश प्रदेशमा भने लम्पी स्किन रोगको संक्रमण दर कम छ। मधेशका पाँच हजार गाईवस्तुमा मात्रै यो रोगको संक्रमण भएको देखिएको छ। बरु कर्णाली र सुदुरपश्चिमका गाउँहरूमा यो रोगको संक्रमण तीव्र गतिमा फैलिएको छ।
अफ्रिकामा सीमित यो रोग एक दशकअघि अन्य महादेशमा पुगेको थियो। नेपालमा भारत हुँदै संक्रमण प्रवेश भएको विभागले अनुमान गरेको छ। पक्स भाइरसको संक्रमणले हुने योे रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिने, र्याल सिंगान बग्ने, खुट्टा र जोर्नी सुन्निने जस्ता लक्षण देखापर्छन्। यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्ने पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्याय बताउँछन्। यद्यपि भैंसीमा भने गाईका तुलनामा संक्रमण दर निकै कम छ।
यो रोगका कारण पशुको मृत्यु हुने, दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने, गर्भ तुहिने, निको भएका पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्ने जस्ता चुनौती सामना गर्नुपर्ने पशु चिकित्सा परिषद्ले जनाएको छ। गाईभैंसीको दूध उत्पादनमा ४० देखि ६० प्रतिशतसम्म कमी हुने अनुसन्धानहरूले देखाएको परिषद्को दाबी छ।
विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोगको संक्रमण फैलिने दर १० देखि २० प्रतिशत र मृत्युदर एकदेखि पाँच प्रतिशत छ। तर, भारत, बाङ्लादेश र इथियोपियामा क्रमशः १२.४५, ३.२५ र ४.५५ मृत्युदर रहेको पशु चिकित्सा परिषद्ले जनाएको छ। परिषद्ले नेपालमा संक्रमण सर्ने दर २० प्रतिशत हुने तथा मृत्युदर ३.८ प्रतिशत हुने अनुमान गरेको छ।
त्यस्तै, यो रोगबाट संक्रमित एउटा पशुबाट किसानलाई ४९ हजार १३५ रुपैयाँको आर्थिक नोक्सानी हुने आकलन गरेको छ। जस अनुसार समयमै उपचार तथा रोग नियन्त्रण गर्न नसक्दा २५ लाख २६ हजार पशुलाई रोग लाग्ने र यसमध्ये एक लाख गाईवस्तु मर्ने अनुमान छ। “त्यो परिस्थितिमा रु.एक खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको हो,” परिषद्का प्रवक्ता शाही भन्छन्।
देशभरिका ग्वालाले यो महामारीका कारण ठूलो क्षति बेहोरे पनि सरकारबाट सहयोग पाएका छैनन्। पशु बीमा गराएका किसानले त्यसबाट रकम पाउने सम्भावना भए पनि अधिकांश किसानले पशु बीमा गराएका छैनन्। त्यसको एक उदाहरण हुन्, नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का किसान शारदा लोहनी। दुई साताअघि लम्पी स्किन रोगका कारण उनको दुहुनो गाई मर्यो। उनको गाईको पशु बीमा गरिएको थिएन। एक लाख रुपैयाँ पर्ने गाई मर्दा पनि कतैबाट सहयोग नपाएको बताउँछिन् उनी।
कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी लम्पी स्किन रोगलाई सरकारले महामारी घोषणा गरेर बस्तुभाउ मरेका किसानलाई क्षतिपूर्ति दिनुपर्ने ठान्छन्। उनी भन्छन्, “किसानले अन्नपात, दूध-घ्यू धेरै उत्पादन गरिदिए आर्थिक वृद्धि भयो भनेर सरकारले जस लिन्छ। तर, गोठै रित्तिने गरेर बस्तुभाउ मर्दा सरकार हेरेर बस्न मिल्दैन, किसानलाई क्षतिपूर्ति दिनुपर्छ।”
अपर्याप्त पहल
तीन वर्षअघि यो रोग देखा परिसके पनि सरकारले संक्रमण फैलन नदिन पर्याप्त पहलकदमी लिन सकेन, जसले गर्दा यसले महामारीको रूप लिन पुग्यो। यो रोग लागिसकेका पशुका लागि प्रभावकारी उपचार विधि छैन। केवल रोग लाग्न नदिन खोप लगाउने विकल्प छ। महामारी शुरू भइसकेपछि मात्रै रोग नियन्त्रणका लागि सात लाख ३७ हजार डोज खोप आयात भए पनि एक लाख ९५ हजार गाईवस्तुमा मात्रै खोप लगाइएको पशु सेवा विभागले जनाएको छ।
नेपालमा गाई र भैंसीको संख्या एक करोड २५ लाख ४६ हजार छ। यो तथ्याङ्कले उपलब्ध खोपको परिमाण निकै थोरै रहेको देखाउँछ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्याय खोप लगाउन ढिला भएकाले रोगले महामारीको रूप लिएको बताउँछन्। “संक्रमित बस्तुभाउलाई ज्वरो आइरहेका वेला खोप लगाउँदा झनै मर्ने सम्भावना बढी हुन्छ। खोप तयारी, जनशक्ति व्यवस्थापनका हिसाबले व्यापक खोप अभियान सञ्चालन गर्न अझै चार-पाँच महीना लाग्छ,” उनले भने।
पशु चिकित्सा परिषद्का प्रवक्ता शाही महामारी भयावह रूपमा फैलिइसकेकाले नेपाल सरकारको पहलले मात्रै रोग नियन्त्रण सम्भव नभएको बताउँछन्। “तीन तहकै सरकारको समन्वय तथा महामारी नियन्त्रणका लागि छुट्टै कानूनी प्रबन्ध (आदेश) ल्याएर व्यवस्थित पहल गरे मात्रै परिणाम आउँछ,” उनी भन्छन्।
शाहीका अनुसार देशका ७५३ मध्ये ५१६ स्थानीय तहमा त पशु चिकित्सक नै छैनन्। वडा स्तरमा त धेरैजसो ठाउँमा प्राविधिक जनशक्ति नै छैन। जसले गर्दा किसानका गोठमा खोप बोकेर प्राविधिक पुर्याउन सजिलो छैन। अर्कातिर, अहिले कृषि र पशुका कार्यालय स्थानीय तह मातहत छन्। संघीयता अगाडि एक हजारको हाराहारीमा रहेका पशु सेवा केन्द्र अहिले ७५३ मा खुम्चिएको परिषद्ले जनाएको छ। संघ, प्रदेश र स्थानीय तहबीच पशु रोग नियन्त्रणका लागि समन्वय पनि छैन।
परिषद्ले महामारी नियन्त्रणका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारलाई सुझाव दिएको छ। त्यसैगरी, रोगको नियन्त्रण तथा रोकथामका लागि देशभर तथ्याङ्क व्यवस्थापन, रिपोर्टिङ, व्यवस्थापन र प्रतिकार्यका क्रियाकलापलाई समन्वय गर्न संघीय स्तरमा कन्ट्रोल रूमको स्थापना गर्न, रोगको संक्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक जना पशु चिकित्सक र पशु स्वास्थ्य प्राविधिकहरूको टोली सहित रेस्पोन्स टीम अविलम्ब परिचालन गर्न, भेटेरिनरी अध्यापन गराउने शैक्षिक संस्थाका शिक्षक र विद्यार्थी, तथा निजी क्षेत्रमा काम गर्ने पशु स्वास्थ्यकर्मीलाई अविलम्ब परिचालन गर्न, पर्याप्त औषधिको मौज्दातको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्याय महामारी थप फैलन नदिन संक्रमण रोकथामका उपाय अपनाउन सुझाउँछन्। उनका अनुसार लामखुट्टे, झिंगा जस्ता कीराको टोकाइ, संक्रमित पशुको साझा खाना, पानी आदि माध्यमबाट यो रोगको भाइरस सर्छ।
त्यसैले संक्रमित पशुको ओसारपसार नगर्न, एउटा गोठबाट अर्को गोठसम्म हिंडडुल नगर्न उनको सुझाव छ। “संक्रमित पशु रहेको गोठको गोबर जुत्ता मार्फत अर्को गोठसम्म पुग्यो भने पनि संक्रमण फैलन सक्छ,” उनी भन्छन्।