गिरिजाप्रसादले नफर्काएको त्यो बन्दूक
राणाशासन फाल्न नेपाली कांग्रेसको ‘जनमुक्ति सेना’ लाई बन्दूक दिएको धनकुटाको खयगुली नेवार परिवारका एक सदस्यले पञ्चायत विरुद्ध आफ्नो प्राणकै आहुति दिए।
धनकुटा नगर क्षेत्रका प्राचीन जाति आठपहरिया राई हुन्, तर मुख्य बजार क्षेत्रमा नेवारहरूको बस्ती बाक्लो छ। उत्तरको हिमाली गोलादेखि दक्षिणको नाका जोड्ने पहाडी भूभाग धनकुटा कुनै वेला चल्तीको व्यापारिक मार्ग थियो। व्यापारकै सिलसिलामा खासगरी काठमाडौं उपत्यकाबाट आएका नेवारहरूले धनकुटा बजार गुल्जार बनाएका हुन्। त्यसैले मुख्य बजार क्षेत्रमा पनि उनीहरूकै बसोबास सघन हुन पुग्यो।
नेवारहरूको कुलदेवताका रूपमा भीमसेनको पूजा हुन्छ। २०० वर्षभन्दा पहिले धनकुटाको बीचबजारमा भीमसेनको मन्दिर ठडियो भने सिरानबजारमा गणेश मन्दिर। भीमसेन मन्दिर स्थापनामा राज्यले नै विशेष चासो देखाएको थियो। यो मन्दिरका लागि धनकुटा बेंसीमा गुठी राखिएको जग्गाको नाम नै गुठीटार हुन पुग्यो।
धनकुटाको भीमसेनस्थान र नेवारहरूको सम्बन्धबारे योगी नरहरिनाथले ऐतिहासिक पत्र प्रकाशन गरेका छन्। विसं १८७६ भदौ बदी ५ रोज ३ मा तत्कालीन राजाबाट धनकुटामा खटिएका काजीबहादुर भण्डारीका नाममा लेखिएको रुक्कामा ‘धनकुटाका... पुजा अक्षता धूप वाति निमित्य. तेसै जगामा ७६ सालमा झाराले का विह्रौटा मध्ये पार्सि मुरि। २० साधन्यको पधेर्या मुरि। २० जम्मा षेतमुरि। ४० गुठ राषि बक्स्यौं’ भन्ने परेको छ (योगी नरहरिनाथ, इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह भाग १- २०५५:३०४)।
बहादुरका छोरा बखतवारसिंह पनि धनकुटामा खटिएका थिए। उनका नाममा विसं १८९७ असोज शुदी ७ रोज ६ मा लेखिएको रुक्कामा ‘धनकुटामा तेरा बाबाले र तैले थापना गर्याको र पौवा पाटी पक्की घर बनायाको गुठ निमित्य पौवा पाटी पक्की घरमाँ पसल राषन्या नेवार जति छन् तिन्हरूलाई ञहाँबाट जान्या भारदारहरूले रकम दै दस्तुर देउ भनि टंटा गर्छन्. तेस पाटी पौवामाँ पसल राषन्या नेवारलाइ रकम कलम दस्तुरादमाँ टंटा नगर्नु डंड कुंड भया ताँहाँका आमदानीले ...लाई धुप दीप नैवेद निमित्य. फिर्ता गरिदिनु न लिनु’ भन्ने उल्लेख छ (योगी, २०५५:३०५)।
यो पत्र अनुसार भीमसेन मन्दिर निर्माणमा बहादुर र बखतवारसिंहको योगदान रहेको स्पष्ट हुन आउँछ। त्यस वेला बखतावरसिंहले भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई झिंगटीको छानो भएका १० वटा पक्की घर बनाएका थिए (नरपति पोखरेल, नरपति पोखरेलका कृति, २०६६:४५०)।
यी ऐतिहासिक तथ्यहरूबाट धनकुटालाई बजारका रूपमा उकास्न नेवारहरूको महत्त्वपूर्ण योगदान रहेको पुष्टि हुन्छ। धनकुटा बजार क्षेत्रका नेवारमध्ये एउटा खयगुली श्रेष्ठ खलक पनि छ। १० पुस्ताअघि त्यहाँ पुगेका उनीहरूको मूल थलो भक्तपुरको खोपासी हो। यो परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा यतिसम्म योगदान गरेको छ कि एक जनाले त शहादत नै प्राप्त गरे। नेपाली कांग्रेसले लोकतन्त्रका लागि गरेको सशस्त्र आन्दोलनमा यो परिवारको भूमिकालाई छुटाउन मिल्दैन।
हतियार उठाउने कांग्रेसको निर्णय
राणाशासन विरुद्ध लड्न नेपाली कांग्रेसले भित्रभित्रै सशस्त्र क्रान्तिको तयारी गरिरहेको थियो। राजा त्रिभुवन लैनचौरस्थित भारतीय दूतावासमा शरण लिन गएपछि राणा सरकार विरुद्ध चारैतिर विरोध शुरू भयो। २००७ कात्तिक २४ गते सुवर्णशमशेरको कलकत्तास्थित घरमा बसेको कांग्रेस कार्यकर्ताहरूको आकस्मिक बैठकले सशस्त्र आन्दोलन थाल्ने गोप्य ‘सर्कुलर’ जारी गर्यो। आन्दोलनको शुरूआत वीरगन्जमा आक्रमण गरी थालियो। यो आक्रमणको नेतृत्व मेजर पूर्णसिंह ठाकुरले गरेका थिए। उनलाई ज्ञानबहादुर सुब्बा (जीबी याक्थुङ्वा) र थिरबम मल्लले साथ दिएका थिए। यो समूहले वीरगन्ज कब्जा गर्यो (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग १- २०७७:३५६-५७)
२००७ असोज १० र ११ गते बैरगनियामा सम्पन्न कांग्रेसको ऐतिहासिक सम्मेलनले निकट भविष्यमा हुने जनआन्दोलनलाई सशस्त्र आन्दोलनको रूप दिने निर्णय गरेको थियो (गौतम, २०७७:३१६)। निरङ्कुश शासक विरुद्ध लड्न त्यसअघि नै जनमुक्ति सेनाको गठन भइसकेको थियो। २००५ जेठ ७ गते कलकत्ताको चौरङ्गीस्थित मेजर पूर्णसिंह ठाकुरको कार्यालयमा दोस्रो विश्वयुद्ध र आजाद हिन्द फौजमा संलग्न ख्यातिप्राप्त योद्धा र केही युवा विद्यार्थी समेतको सहभागितामा बसेको गोप्य बैठकले एउटा सशस्त्र क्रान्तिकारी दल बनाउने निर्णय गरेको थियो। त्यसको नामबारे छलफल हुँदा जीबी याक्थुङ्वाले प्रस्ताव गरेको ‘जनमुक्ति सेना’ लाई सबैले रुचाए र त्यही पारित भयो (श्यामकुमार तामाङ, जनमुक्ति सेना एउटा नलेखिएको इतिहास- २०६३:५९)।
त्यस वेला दार्जिलिङ क्षेत्र राणाशासनविरोधी गतिविधिको केन्द्र थियो। प्रशस्त नेपाली विद्यार्थी रहेकाले राणाशासन समाप्त पार्ने अभियानमा जुटेका नेताहरू त्यहाँ पुगिरहेका थिए। युवा विद्यार्थीमाझ महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, पुष्पलाल श्रेष्ठ, सीबी (चन्द्रवीर) सिंह तथा गणेशमान सिंह लगायतले राणाशासन विरोधी चेतनाको बीजारोपण गरिदिएका थिए। गणेशमान, उनका सहयोगी सीबी सिंह तथा बीबी चेम्जोङले दार्जिलिङका नेपाली विद्यार्थीलाई विभिन्न समूहमा बाँडेर नेपाल प्रवेश गराई राणाशासनविरोधी प्रचार अभियानमा जुटाएका थिए। तत्काललाई पढाइ स्थगन गरेर दार्जीलिङबाट नेपाल फर्कनेहरूमा धनकुटाका रामनारायण श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की तथा राजनारायण थापा पनि थिए (तामाङ, २०६३:४५)।
रामनारायण उनै खयरगोली नेवार परिवारका सदस्य हुन्। उनी पछि सरकारी सेवामा प्रवेश गरी सचिवसम्म भएका थिए। धनकुटा, मूलघाटको विश्रान्ति मन्दिरका संस्थापक हुन्, उनी।
क्रान्तिका लागि बन्दूक प्रदान
२००७ सालको क्रान्ति सफल बनाउन श्रेष्ठ परिवारले कांग्रेसलाई कागज गरेर एउटा बन्दूक र केही गोली पनि दिएको थियो। क्रान्ति सकिएपछि बन्दूक फिर्ता गर्ने कबोल थियो। तर, फिर्ता गरिएन।
पाँच फायर गर्न सक्ने उक्त बन्दूक पार्टीका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले धरान, जुद्धनगरका जयनारायण श्रेष्ठको घरबाट बुझेका थिए। जयनारायण श्रेष्ठ परिवारकै एक भाइ हुन्। बन्दूक बुझेको भर्पाई अहिले पनि यो परिवारसँग सुरक्षित छ। गिरिजाप्रसादले हस्ताक्षर गरेको भर्पाईमा यस्तो लेखिएको छ:
२००७/९/२५ मा
धरान जुद्धनगर बस्ने श्री जयनारायण श्रेष्ठको ५ फायर मार्जर धं गौ.नं. मोगो नं.बन्दुक थान एक र त्यस्को टोटा गोटा २५ एस काँग्रेस अफिस (बिराटनगर)मा दाखिल भयो। जनक्रान्तिको समयमा लडाईको निम्ति प्राप्त भयो। क्रांतीपछि यो बन्दूक तपाईलाई फिर्ता दिइने छ
गिरिजाप्रसाद कोइराला
पोलिटिकल कमिशनर
जुद्धनगर भन्ने ठाउँ धरानको हालको पुतलीबजार हो। जयनारायण गायक दीप श्रेष्ठका बुबा हुन्।
यो बन्दूकको लाइसेन्स अहिले पनि सुरक्षित छ। लाइसेन्स अनुसार उक्त बन्दूकको खास हकदार सूर्यनारायण देखिन्छन्। सूर्यनारायण जयनारायणका भाइ हुन्। रामनारायण चाहिं जयनारायण र सूर्यनारायणका ठूलो बुबा दत्तनारायणका नाति।
सूर्यनारायणका नाममा यो बन्दूकको लाइसेन्स २००५ वैशाख २९ गते धनकुटा गौंडाबाट जारी गरिएको छ। लाइसेन्समा भने बन्दूक ६ फायरको भएको उल्लेख छ। यसको नवीकरण धनकुटा गौंडाबाटै सूर्यनारायणकै नाममा दुई वर्षका लागि २००७ वैशाख २५ गते शुक्रबार गरिएको छ। यस अनुसार २००९ वैशाख २८ गते लाइसेन्स नवीकरण गर्नुपर्ने थियो। तर, न बन्दूक फिर्ता भयो न नवीकरण भयो।
सम्भवत: यो बन्दूक विराटनगरतिरको सशस्त्र मोर्चामा कांग्रेसले प्रयोग गरेको थियो।
भीमनारायणको शहादत
२००७ सालपछि नेपालमा अदालतले तोकेरै दुर्गानन्द झा, यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ गरी तीन जनालाई मृत्युदण्ड दिएको इतिहास छ। २०१७ पुस १ को काण्डपछि नेपाली कांग्रेसले फेरि हतियार उठाउने निर्णय गरेको थियो। यही कालखण्डमा खयरगोली नेवार परिवारका सदस्य भीमनारायण श्रेष्ठले तत्कालीन व्यवस्था विरुद्ध भारतबाट हतियार भित्र्याएका थिए। उक्त हतियार राजा वीरेन्द्रलाई ताकेरै हानेको अभियोगमा उनले मृत्युदण्ड पाए। १९९४ असार २४ गते जन्मिएका उनलाई २०३५ माघ २६ गते कोशी किनारमा गोली दागेर मृत्युदण्ड दिइयो। उनी सूर्यनारायणका जेठा छोरा हुन्।
भीमनारायणलाई मृत्युदण्ड दिइएको केही सातापछि कांग्रेस नेत्री मंगलादेवी सिंहले शहीदपत्नी लक्ष्मी श्रेष्ठलाई समवेदना-पत्र पठाएकी थिइन्। २०३५ चैत ११ गते लेखिएको पत्रमा “तपाईंको दुलहा शहीद हुनुभएको छ। त्यसका लागि तपाईंले गौरव मानी सहनुपर्छ। देशका लागि शहीद हुनुभएकोमा दु:ख मान्नु हुँदैन। उहाँ मरेर गए पनि उहाँको अमर कामलाई नेपालले कहिल्यै बिर्सनेछैन” भन्ने उल्लेख छ।
२०३३ फागुन ६ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू वासुदेव शर्मा र झपटसिंह रावलले भीमनारायणलाई राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको अभियोग लगाई पञ्चायती कानुनको राजकाजको (अपराध र सजाय) ऐन, २०१९ दफा १६ तथा राजगद्दी ऐन, २०१५ दफा १६ अनुसार मृत्युदण्डको फैसला सुनाएका थिए। ज्यान लिनुअघि उनलाई २३ महीनासम्म केन्द्रीय कारागारको गोलघरमा थुनिएको थियो।
यज्ञबहादुर थापा र भीमनारायणलाई मृत्युदण्डको फैसला गर्ने न्यायाधीश झपटसिंहले १९९७ माघमा चार शहीदलाई मृत्युदण्डको फैसला गरिंदा पनि त्यति वेला गठित विशेष अदालतमा काम गरेका थिए। विचारी पदमा रहेका उनले पक्राउ गरिएका क्रान्तिकारीहरूसँग लिइएको बयान लेख्ने काम गरेका थिए (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषदको भूमिका भाग १- २०६२:१३४)।
यो फैसला गर्ने अर्का न्यायाधीश वासुदेव शर्मा बीपी कोइरालाका साढुभाइ हुन्। बीपी गृहमन्त्री छँदा उनी स्वकीय सचिव थिए। पछि बीपीकै अनुग्रहमा भोजपुरको बडाहाकिम पनि भएका थिए।
२०३० चैत ३ गते विराटनगरको कोशी अञ्चल अस्पताल अगाडि भएको बम विस्फोटसँग भीमनारायणको सम्बन्ध छ। घटनामा पचासौं जना घाइते भए। नेविसंघका सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठको उपचारका क्रममा र सर्वसाधारण नगेन्द्रप्रसाद पराजुलीको घटनास्थलमै मृत्यु भयो। विस्फोटको सम्पूर्ण आरोप घाइते भीमनारायणलाई आइलाग्यो।
त्यस दिन राजा वीरेन्द्र विराटनगर भ्रमणमा थिए। उनी समीक्षालय जाने कार्यक्रम रहेछ। सवारी हेर्न रामकृष्णको पछि लागेर भीमनारायण त्यसैतर्फ जाँदै थिए। रामकृष्ण आमाका लागि औषधि किन्न अस्पताल परिसरतिर जाँदै गर्दा विस्फोट भयो। त्यो बम राजालाई नै ताकेर हानेको आरोप भीमनारायणलाई लगाइयो। विस्फोटमा आफू निर्दोष रहेको इन्कारी बयान दिए पनि यातना सहन नसकेपछि उनले साविती बयान दिई घटनाको जिम्मेवारी लिए।
२०३० फागुन २६ गते विराटनगरमै भीमनारायणका भाइ वीरेन्द्रनारायणको विवाह भएको थियो। बिहेका सामान किन्न भीमनारायण पटक पटक भारतीय बजार फारवेसगन्ज पुगेका थिए। त्यही सिलसिलामा पुराना चिनारु पूर्व सैनिक अफिसर कप्तान यज्ञबहादुर थापासँग भेट भएछ। ओखलढुंगा काण्डका प्रमुख व्यक्ति उनी नेपाली कांग्रेसमा आस्थावान् भई फारवेसगन्जमा निर्वासित थिए।
उनैले कागजमा पोको पारिएको एउटा गह्रौं वस्तु फलानोलाई दिनू है भनी भीमनारायणको साथमा पठाएका रहेछन्। भीमनारायणले गोप्य तरीकाले सीमा कटाई ल्याएर त्यो वस्तु रामकृष्णलाई बुझाए। त्यो ३६ नं. ग्रिनेड रहेछ। रामकृष्णले बोकेको त्यही ग्रिनेड विस्फोट भयो।
भीमनारायण नेपाली कांग्रेसप्रति आस्थावान् थिए। उनी २०१५ को आमनिर्वाचनमा कांग्रेसको प्रचार समितिमा थिए। त्यही क्रममा धनकुटामा गुल्मपति भएर बसेका बखत कप्तान यज्ञबहादुरसँग उनको परिचय भएको थियो। व्यापारका सिलसिलामा उनी फारवेसगन्ज ओहोरदोहोर गर्दा यज्ञबहादुरलाई केही खर्च पनि छाड्ने गर्थे।
कालान्तरमा यज्ञबहादुर र भीमनारायण सँगसँगै राज्यका लागि बागी बनेर निस्किए। दुवैलाई नक्खु कारागारको गोलघरमा राखिएको थियो। झापा आन्दोलनका राधाकृष्ण मैनाली, केपी ओली तथा मोहनचन्द्र अधिकारी पनि त्यहीं थिए। आफूलाई मृत्युदण्ड दिन लगिंदै गर्दा पनि भीमनारायणको मुुहारमा हाँसो थियो। उनले राधाकृष्ण मैनाली लगायतलाई भनेका थिए, “जीवन रहे भेट होला, नभए यति हो। बाँचेकाले क्रान्ति गर्नू, मेरो यही खबर सबैलाई सुनाइदिनू (राधाकृष्ण मैनाली, लुटिएको दुई थुँगा फूल- २०५२:५१)।
निरङ्कुशता विरुद्ध जीवनको आहुति दिने भीमनारायण श्रेष्ठलाई नेपाल सरकारले मृत्युदण्डको ३६ वर्षपछि २०७१ फागुन १९ गते शहीद घोषणा गर्यो।