ललिता निवास प्रकरणमा सञ्चार सचिव सहित तीन जना पक्राउ
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगेको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार सञ्चार सचिव राउतलाई पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी निर्देशक किरण बज्राचार्यले बताइन्।
सञ्चार सचिव राउतलाई २०६७ सालमा बालुवाटारको सरकारी जग्गामा बाटो विस्तार गर्ने परियोजनाको प्रस्तावका लागि टिप्पणी उठाउँदा कीर्ते गरेको अभियोग लागेको छ। त्यति वेला उनी भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत थिए।
यस्तै, सीआईबीले आजै लोकहरि घिमिरे र ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको थियो। घिमिरे त्यति वेला गृह मन्त्रालय मातहत रहेको समरजंग कम्पनीका तत्कालीन प्रमुख थिए। यही कम्पनीले सरकारी जग्गालाई व्यक्तिका नाममा लैजान भूमिका खेलेको थियो।
त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति अर्याल त्यति वेला नापी अधिकृतका रूपमा जग्गा नापजाँचमा संलग्न रहेको सीआईबीले जनाएको छ।
अहिलेसम्म यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्। यसमा सीआईबीले २२० जनामाथि छानबिन गरिरहेको छ।