दूधको अनुदान रोकिएपछि चितवनका किसान धर्नामा
बागमती प्रदेश सरकारले दूधमा दिएको अनुदान रोकेपछि चितवनका किसान धर्नामा बसेका छन्।
चितवनबाट आएका किसानहरू हेटौंडास्थित बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन्। सरकारले दूधमा दिएको अनुदान रोकेपछि व्यापारीले किसानको दूध खरीद गर्न छोडेका छन्। जसले गर्दा केही दिनयता दूधले बजार नपाएपछि आन्दोलनमा उत्रिनुपरेको किसान किशोर बगालेले बताए।
चितवनका तीन वटा स्थानीय तहमा दिंदै आएको अनुदान प्रदेश सरकारले रोकेको छ। दोहोरो अनुदान हुने भन्दै अनुदान रोकिएको मन्त्रालयको भनाइ छ।
प्रदेश सरकारले दोहोरो सुविधा हुने भन्दै भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाको अनुदान रोकेको छ। भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर तीन अनुदान दिँदै आएको छ। माडी नगरपालिकाले चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएको छ।
दूधमा अनुदान रोकिएका तीन वटै स्थानीय तहका किसान हेटौंडा पुगेका हुन्। उनीहरूले अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।
यससँगै उनीहरूले पशु बीमाको रकम पनि नपाएको जनाएका छन्। माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने किसान बगालेले बताए।