सहमति खोज्न प्रतिनिधि सभाको बैठक सारियो
प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घन्टा पछाडि सारिएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा निर्धारित समयभन्दा दुई घन्टापछिका लागि बैठक सारेका हुन्। तीन दलका शीर्ष नेताबीच सहमतिका लागि प्रयास भइरहेकाले बैठक सारिएको सभामुखको निजी सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको जनाइएको छ।
चार दिनदेखि संघीय संसद् अवरुद्ध हुँदै आएको छ। प्रधानमन्त्रीको राजीनामाको माग गरेर एमालेले संसद् अवरुद्ध गर्दै आएको हो।