राष्ट्रिय सभाको बैठक चौथो पटक अवरुद्ध
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै नेकपा (एमाले)ले आइतबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ।
राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाए। त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भगवती न्यौपानेलेलाई बोल्न समय दिएका थिए।
सांसद न्यौपानेले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने अडान यथावत् रहेको बताइन्। प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म संसद्को कामकारबाही अगाडि नबढाउन उनले आग्रह गरिन्।
अध्यक्ष तिमिल्सिनाले पटक पटक आफ्नो स्थानमा बस्न एमाले सांसदलाई आग्रह गरे। तर, उनीहरूले उभिएर विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले सोमबारसम्मका लागि बैठक स्थगन गरेका छन्।
प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सघाएको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ। एमालेको विरोधका कारण लगातार संसद् अवरुद्ध हुँदै आएको छ।