प्रधानमन्त्री दाहालका ज्वाइँ बने आर्थिक मामिलामन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्।
यसअघिको सरकारमा समेत मन्त्री रहेका आचार्य असार २४ गते मन्त्री नियुक्त भएका हुन्। आचार्यसँगै राजेन्द्र कार्की र रामकुमार खत्री पनि मन्त्री बनेका छन्।
तीनै जनालाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। यससँगै प्रदेश सरकार ६ सदस्यीय बनेको छ।
आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएको भए पनि अन्य मन्त्रीलाई जिम्मेवारी दिइएको छैन। यसअघि असार २२ गते नियुक्त भएका मन्त्रीलाई पनि जिम्मेवारी दिन बाँकी नै छ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरमा असार २१ मा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यही दिन कमलप्रसाद जबेगू र प्रदीपकुमार सुनुवार मन्त्री नियुक्त भएका थिए।