रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’
सुवेदी पुरस्कार पाउने छैटौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन् ।
बालसाहित्यकार रामबाबु सुवेदीलाई यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ प्रदान गरिएको छ। आयोजक संस्था कृष्ण साहित्य सदनका अनुसार पाँच दशकदेखि सरल र सुरुचिपूर्ण सिर्जनाका माध्यमबाट बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदीको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको हो।
सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरे। रसिला र मनोरञ्जक बालगीत तथा बालकविता मार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको ठहर छ।
२००४ सालमा हंसपुर, कास्कीमा जन्मिएका सुवेदीका ‘मेरो गाउँ ज्यामिरे’, ‘आइतबार बिहान’, ‘आमा जस्ती गुरुमा’, ‘घान्द्रुक झलल’ जस्ता रचना प्रसिद्ध छन्।
यो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बालकविता सङ्ग्रह रमाइला नानीको नाममा स्थापना गरिएको हो। भाषा-व्याकरणका क्षेत्रमा राम्रो रचना मीठो नेपाली पुस्तकले अमर बनेका साहित्यकार पराजुलीका दर्जनौं पुस्तक प्रकाशित छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका सम्पादकमध्ये पनि एक हुन् ।
सदनले पराजुलीको स्मृति दिवसको अवसरमा पारेर असार २३ गते सो पुरस्कार प्रदान गर्ने गरेको छ। प्रा.डा. ध्रुव घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा अतिथि वक्ता प्रा.डा. कपिल लामिछानेले पुरस्कृत व्यक्तित्वको योगदानको चर्चा गरेका थिए ।
सो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बाल कविता संग्रह रमाइला नानी को नाममा स्थापना गरिएको हो। सो पुरस्कार पाउने सुवेदी छैटौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन् ।
साथै, सदनले स्नातकोत्तर तहको नेपाली साहित्यमा सर्वोत्कृष्ट नतीजा प्राप्त गर्ने डिल्ली नेपाललाई विशेष सम्मान पनि गरेको छ। उनले कृष्णप्रसाद पराजुली रचित महाकाव्य मनमायामाथि शोध पूरा गरेका थिए।