‘लाइसेन्स नहुँदा मानसिक स्वास्थ्यमा गलत अभ्यास भइरहेको छ’
‘मनोपरामर्शदाता मनसँग खेल्नुपर्ने मान्छे हो। एउटा शब्दले मान्छे बाँच्छ भने एउटै शब्दले मर्न पनि सक्छ। यस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने मान्छेबारे किन अनुगमन छैन?’
मानसिक स्वास्थ्यमा परामर्शकर्तालाई लाइसेन्सको व्यवस्था नभएकाले गलत अभ्यास भइरहेको विज्ञहरूले बताएका छन्। नेपालमा मानसिक स्वास्थ्यको मनोपरामर्शमा काम गर्नेहरूको परीक्षा लिने कुनै संयन्त्र पनि नहुनु र उनीहरूको अभ्यास अनुगमन गर्ने प्रणाली पनि नहुनुले गलत अभ्यास भइरहेको विज्ञहरूको भनाइ छ।
शनिबार पब्लिक हेल्थ डिस्कशन ग्रूप नेपालले ‘मानसिक स्वास्थ्यमा राज्यको नजरअन्दाज’ शीर्षकमा गरेको कार्यक्रममा मनोचिकित्सक तथा अनुसन्धानकर्ता ऋषभ कोइरालाले समस्यामा रहेकाहरू सही ठाउँमा पुगून् भनेर नै लाइसेन्सको आवश्यकता रहेको बताए।
उनले भने, “कोही समस्यामा परेर जसोतसो आँट गरेर विशेषज्ञकहाँ पुगेको हुन्छ। तर, राम्रो सेवा पाएन भने दोस्रो चोटि ऊ मद्दत लिन चाहँदैन। त्यसैले लाइसेन्स जरुरी छ। गलत ठाउँमा पुगेर समस्या झन् बिग्रिएको र कहिलेकाहीं ज्यानको क्षति नै हुने गरेको उदाहरण पनि छन्।”
मनोविद् विजय बिजुक्छेले पनि लाइसेन्सको व्यवस्था एकदम आवश्यक रहेको बताइन्। उनका अनुसार एकाध व्यक्ति वा संस्थाले राजनीतिक पहुँचले संस्था चलाइरहेकाले लाइसेन्सको प्रक्रिया शुरू हुन नसकेको हो।
“मानसिक स्वास्थ्य एकदम ठूलो र संवेदनशील क्षेत्र हो। सरकारलाई प्राइभेट सेक्टरसँग हातेमालो गर्न रोकेर कुनै एउटा समूह वा एक-दुई जनाले आफ्नो हातमा पार्न खोज्दा लाइसेन्समा जानुपर्ने प्रक्रिया भइरहेको छैन,” उनले भनिन्।
उनले लाइसेन्स नहुँदा सेवा वैधानिक पनि नहुने बताइन्। “मनोपरामर्शदाता मनसँग खेल्नुपर्ने मान्छे हो। एउटा शब्दले मान्छे बाँच्छ भने एउटै शब्दले मर्न पनि सक्छ। यस्तो संवदेनशील क्षेत्रमा काम गर्नुपर्ने मान्छेबारे किन अनुगमन छैन?” उनले प्रश्न गरिन्।
कार्यक्रममा बोल्दै बालबालिका तथा किशोरकिशोरी मनोरोग विशेषज्ञ अमित झाले नेपालमा कुल नसर्ने रोगहरूमध्ये १८ प्रतिशत मानसिक स्वास्थ्य सम्बन्धी रहेको बताए। उनका अनुसार हाल पाँच जनामध्ये एक जना बालबालिकामा मानसिक समस्या देखिइरहेको छ।
उनले भने, “५० प्रतिशत जति मानसिक समस्या छन्। उनीहरूमा १५ वर्षदेखि नै त्यो समस्या शुरू भइसकेको हुन्छ।”
मनोचिकित्सक कोइरालाका अनुसार मानसिक स्वास्थ्य एउटाले मात्रै जिम्मा लिने विषय होइन। उनले भने, “जनचेतना आवश्यक छ। यसमा सबैको साथ सहयोग चाहिन्छ। साथीभाइसँग कुरा गर्ने, जीवनशैलीको परिवर्तन, शिक्षकले विद्यार्थीलाई सिकाउने आदि गर्न सकिन्छ।”
मनोविद् बिजुक्छेले रुचिहरू परिवर्तन हुनु, धेरै रिस उठ्नु, रिस उठेर थाहा भए पनि व्यवस्थापन गर्न नसक्नु, राति निद्रा नलाग्नु, बानीव्यहोरा परिवर्तन हुनु, रमाउने मान्छे एक्लो बस्ने, अरू आउँदा पनि दिक्क मान्नु लगायत लक्षणहरू माानसिक समस्यासँग जोडिने बताइन्।
उनले वडा तहमा यस सम्बन्धी सबैलाई जनचेतना दिन आवश्यक रहेको बताइन्।