रकमान्तरको नाममा अनियमितताको आरोप, प्रदेश सभा बैठक अवरुद्ध
सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै नेकपा (एमाले)ले मधेश प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ।
मधेशका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको एमालेले आरोप लगाएको छ। एमाले सांसदले शनिबारको प्रदेश सभाको बैठकमा विरोध जनाएका हुन्।
मधेस प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै एमालेका मुख्य सचेतक लखन दासले सरकारले रकमान्तर गरेर अनियमितता गरेको भन्दै विरोध जनाए। आफ्नो गृहजिल्ला सर्लाहीमा २२ वटा योजनामा करीब १४ करोड रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको जवाफ माग गरे।
उनले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिशन लिएर रेड बूकमा योजना समावेश गरिएको आरोप लगाए। मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गर्दै विरोध जनाए।
एमाले सांसदले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक स्थगन गरेका छन्। अर्को बैठक आइतबार बस्ने भएको छ।
वन तथा वातावरण मन्त्रालयको ५० करोडभन्दा बढी बजेट रकमान्तर गरिएको छ। जसमध्ये सात करोडभन्दा बढीका योजना मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा पठाएका छन्।
सर्लाहीका ४६ योजनामध्ये मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रमा ३४ योजना लगेका छन्। सबै टुक्रे योजना छन्।
एमालेका प्रदेश सभा सदस्य राजकुमार लेखीले रकमान्तरको विषयमा छानबिन हुनुपर्ने बताए। यसमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने उनको भनाइ छ।