समाजवादी मोर्चाका नेता छलफलमा
समाजवादी मोर्चा नेपालमा आबद्ध राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन्।
आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा मोर्चाका नेता छलफलमा जुटेका हुन्। मोर्चा गठनपछि पहिलो पटक बैठक बसेको हो।
आजको बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने जनाइएको छ। त्यस्तै, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा पनि छलफल हुने भएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द लगायत नेता सहभागी छन्।
चार दलले असार ४ गते मोर्चाको घोषणा गरेका थिए। तीनबुँदे सहमति गरेर मोर्चाको घोषणा गरिएको भए पनि कसरी अघि बढ्ने भन्ने तय गरिएको छैन।