एमालेका लागि अहिले सत्ता प्रधान होइन: शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले आफ्नो पार्टीका लागि सत्ता प्राथमिकतामा नरहेको बताएका छन्।
एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सत्ताभन्दा पनि राष्ट्रको भविष्य प्रमुख भएको पोखरेलको भनाइ थियो। “अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रधान हो,” पोखरेलले भने, “कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन।”
एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अगाडि बढाउन खोजिएको उनले बताए। ग्रासरूट अभियानले बलियो बनाउन सघाउने उनको भनाइ थियो।
“बलियो राष्ट्रिय शक्तिका रूपमा एमालेको विकास अबको हाम्रो सङ्कल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरूट अभियान थालेका थियौं,” पोखरेलले भने, “त्यही मिसन ग्रासरूट अभियानको जगमा यति वेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको सङ्कल्पका साथ नयाँ योजना, नयाँ सङ्कल्पका साथ अगाडि बढ्न खोजिरहेको छ।”
उनले धेरैभन्दा पनि बलियो राजनीतिक दल आवश्यक रहेको बताए। बलियो राजनीतिक दलले नै देशलाई सही बाटोतर्फ लग्ने उनको भनाइ थियो। “जति धेरै राजनीतिक दल, उति राष्ट्रको भविष्य अँध्यारो हुन्छ। धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलतर्फ अब समाजलाई डोर्याउन जरुरी छ,” पोखरेलले भने।