धौलीगङ्गा बाँध खोलिंदै, महाकाली किनारतिर सतर्कता अपनाउन आग्रह
धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बैतडीले सूचना जारी गरी भारतको तपोवनस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलीगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
पन्थीले भने, “वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै वेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ। त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका हौं।”
लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उनले बताए। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न सचेत गराइएको हो।
धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्का वेला हरेक वर्ष खोलिने गर्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराइँदै आएको छ।
२०७० असार २ मा एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा १०० भन्दा बढी घर बगेका थिए। जसले गर्दा अर्बौं धनमाल क्षति पुगेको थियो।