अब मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नो पुस्ताको मान्छे प्रधानमन्त्री बन्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नो पुस्ताको मान्छेलाई प्रधानमन्त्री बनाउन लाग्ने बताएका छन्। त्यसका लागि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ थियो।
कांग्रेसबाट भूतपूर्व प्रधानमन्त्रीलाई फेरि प्रधानमन्त्री बनाउन नहुने उनको तर्क थियो। “म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिश गरेको हो। मैले सबै साथीहरूको मन बुझाउन सकिनँ,” थापाले भने, “तर, म थाकेको छैन, हारेको छैन। कांग्रेसबाट भूतपूर्व प्रधानमन्त्रीलाई अब प्रधानमन्त्री बनाउनु हुँदैन।”
त्यसका लागि कांग्रेस संसदीय दलको नेता बदल्नुपर्ने र त्यसका लागि आफू लाग्ने उनले बताए। “फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु। सके बदल्छु र आफू बन्छु। नसके अर्कोलाई बनाउँछु, तर बदल्नुपर्छ भन्नेमा छु। त्यो बदलिनपर्छ,” थापाले भने, “अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुरा हो।”
अहिले सबै पार्टीमा भूतपूर्व प्रधानमन्त्री नै प्रधानमन्त्री बन्ने लाइनमा रहेको उनले उल्लेख गरे। जसले गर्दा प्रधानमन्त्री बन्ने कुरा भूतपूर्व क्लबकै हुने जस्तो भएको उनको जिकिर थियो।