नयाँ र स्वतन्त्र भन्नेहरूको हविगत पनि पुराना पार्टीकै जस्तो हुन्छ: घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ र स्वतन्त्र भनेर आएका पार्टीको हविगत पनि पुराना पार्टीकै जस्तो हुने टिप्पणी गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित एकीकृत समाजवादी निकट कानून व्यवसायीको कार्यक्रममा बोल्दै महासचिव भुसालले नयाँ आएकाहरूसँग पनि अहिलेका समस्या समाधान गर्ने उपाय नदेखिएको बताए।
दलाल पूँजीवाद र बिचौलियातन्त्रमाथि प्रश्न नगर्दा पुराना पार्टीहरूप्रति जनता निराश भएको उनको भनाइ थियो। “दलाल पूँजीवाद, बिचौलियातन्त्रमाथि प्रश्न नगरिएको कारणले संवैधानिक व्यवस्था, यसको ग्यारेन्टीको प्रयत्न, राजनीतिक अभियान केही दिनका कुरा जस्ता भए,” भुसालले भने।
अहिले आएका नयाँहरूले पनि दलाल पूँजीवाद र बिचौलियातन्त्रमाथि प्रश्न नगरेको उनको भनाइ थियो। भुसालले भने, “अहिले राजनीतिमा जुन नयाँ भन्ने चिज आइराख्या छ, स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ, तिनको पनि त्यही (पुराना दलको जस्तै) हविगत हुन्छ। किनभने ती कसैले पनि दलाल पूँजीवादमाथि प्रश्न उठाएका छैनन्।”
त्यस्तै, नयाँ आएका पार्टीसँग अहिलेका समस्या समाधान गर्ने उपाय नदेखिएको उनको भनाइ थियो। “नयाँहरूले पनि त्यस्तो मुद्दा उठाएका छैनन्, जसले रोजगारी सिर्जना हुन्छ र आजका बच्चाबच्चीले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन्। अहिलेको भन्दा राम्रो रोजगारी पाउँछन्,” भुसालले भने।
राजनीतिक रूपमा धेरै गर्न बाँकी भए पनि सैद्धान्तिक रूपमा भने एकीकृत समाजवादी ठीक ठाउँमा रहेको उनको जिकिर थियो। “राजनीतिक रूपले धेरै गर्न बाँकी छ, तर सैद्धान्तिक रूपले आजको युगको समस्या के हो भन्ने कुरा हामीले टुङ्ग्याएका छौं,” भुसालले भने। दलाल पूँजीवाद र बिचौलियातन्त्र अहिलेको सबैभन्दा ठूलो समस्या भएको उनको भनाइ थियो।