मिटरब्याजी विरुद्ध देशभर २४ हजार उजुरी
देशभर मिटरब्याजबाट पीडितहरूले उजुरी दिने क्रम बढ्दै गएको छ। अहिलेसम्म २४ हजार उजुरी परेका छन्।
सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगले उजुरी आह्वान गरेको थियो। अहिलेसम्म परेका उजुरीमध्ये एक हजार ३८५ वटा उजुरीमा मेलमिलाप गरिएको आयोगले जनाएको छ।
सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो। आयोगका सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दा समेत छन्। यसअघि अदालतबाट आफू विरुद्धमा फैसला आएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए।
त्यस्ता मुद्दामा पनि मेलमिलाप गरिएको सुवेदीले बताए। उनका अनुसार पीडितले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन्।
आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिश गरिने उनले बताए।
सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गत चैत २० गतेको निर्णय अनुसार जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्यसञ्चालन गरिरहेको छ।