‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘पटक पटक सत्ता र शासक बदलिए, तर जनताको जीविकोपार्जनको पद्धति बदलिएन। हिजो जनता जुन अवस्थामा थिए, आज पनि त्यही अवस्थामा छन्।’
नेपाली समाज र खासगरी भ्रष्टाचारको विषयमा कलम चलाउँदै आएका लेखक हुन् दिपेश घिमिरे। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक समेत रहेका घिमिरेको शासन र शासक पुस्तक सार्वजनिक भएको छ।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँगको सहलेखनमा उनको समाज र भ्रष्ट्राचारः कारण, आयाम परिणाम पुस्तक प्रकाशित भएको थियो। त्यस्तै, उनका दी मेनस रिफ्लेक्शन एन्ड एन्टिकरप्शन इन नेपाल, पोलिटिकल करप्शन इन नेपाल र रिफ्लेक्शन अफ नेप्लिज सोसाइटी पुस्तक प्रकाशित छन्।
हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक घिमिरेसँग सागर बुढाथोकीले गरेको कुराकानीः
हालै शासन र शासक प्रकाशित भएको छ। आममान्छेले त नेपाली शासक कस्ता छन् भने सोध्यो भने राम्रो भन्दैनन्। शासकसँगै सम्बन्धित पुस्तकको लेखक अझ समाजशास्त्रीको दृष्टिकोणबाट हेर्दा हाम्रा शासक कस्ता छन्?
नेपाली शासन र शासकबारे फरक फरक दृष्टिकोण पाइन्छ। मलाई चाहिं नेपाली शासकको चरित्र पाखण्डी जस्तो लाग्छ। उनीहरूको भित्र एउटा कुरा हुन्छ भने व्यवहार अर्कै हुन्छ। तर, आफू अर्कै हुँ भनेर प्रस्तुत गरिरहन्छन्।
डेरन अलेमलु र जेम्स ए. रोविनसनले ह्वाई नेशन्स फेल भन्ने किताबमा देश असफल हुनुमा देशका संस्था कस्ता छन् भन्ने कुराले अर्थ राख्छ भनेका छन्। संस्था राम्रो-नराम्रो हुनुमा संस्था सँगसँगै त्यसको नेतृत्वको पनि भूमिका हुन्छ। कमजोर नेतृत्व हाम्रा शासकको चरित्र हो।
हाम्रो शासकमा पाखण्डीपन छ भन्ने कुरा किताब लेख्नुअघिकै निष्कर्ष हो?
पछिल्ला केही वर्ष विदेशमा बसें। विदेश जानुअघि यहाँको सडकमा धूलो उडेको देख्दा सडकमा धूलो नउडेर के उड्छ त भन्ने लाग्थ्यो। ट्राफिक जाम होस् या अस्पतालको लाइन, खाल्डाखुल्डी बाटो होस् या अन्य केही भद्रगोल अवस्था, यी सबै सामान्य लाग्थे। यस्तै त हो नि भनेर बानी परिसकेको थियो।
विश्वका करीब एक दर्जन देश घुमिसकेपछि यो अवस्था असामान्य हो भन्ने लाग्यो। त्यसपछि यी असामान्य कुरा हामीलाई कसरी सामान्य लागिरहेको छ भनेर खोज्न थालें।
हामी शासक, उनीहरूले शासन गर्ने तौरतरीकामा प्रश्न नै गर्दा रहेनछौं। शासकलाई गर्ने प्रश्न चाहिं के के हुन सक्लान् भन्ने खोजी गर्ने क्रममा यो किताब लेखेको हुँ। उदाहरणका लागि कुनै पनि सभ्य समाजमा हामीले जे सामान्य कुरा भनिरहेका छौं, खासमा ती असामान्य कुरा हुन्। असामान्य कुरालाई कसरी सामान्यीकरण गरिएछ भनेर खोज्ने क्रममा यो किताब तयार भएको हो। किताब लेख्नुअघि शासक पाखण्डी छन् भन्ने निष्कर्ष थिएन।
यो निष्कर्ष निकाल्नुअघि तपाईंको दृष्टिकोणमा हाम्रा शासक कस्ता थिए?
त्यो वेला कुनै पनि कुराले शासकलाई छुँदैन जस्तो लाग्थ्यो। जस्तो कि अस्पतालमा बिरामीको लाइन छ। सार्वजनिक विद्यालय भद्रगोल छन्। निजी विद्यालयमा शुल्क अचाक्ली छ। सडकमा जाम र धुवाँधूलो उस्तै छ। जनताले दिनानुदिन सास्ती पाएका छन। यस्ता कुराले नछुने शासक थेत्तरो मनोविज्ञानका हुन् भन्ने लाग्थ्यो।
तपाईंले थेत्तरो र पाखण्डीमा देखेको फरक के हो?
मलाई पहिला शासकले बुझेका छैनन्, त्यही कारणले काम गरेका छैनन् जस्तो लाग्थ्यो। उनीहरू बदलिन चाहँदैनन् जस्तो लाग्थ्यो। तर, किताब लेख्ने क्रममा उनीहरूलाई सबै थाहा छ, तर स्वाङ पारिरहेका छन् भन्ने बुझें। उनीहरूले काम गरे भने जेबाट फाइदा लिइरहेका छन्, त्यो गुम्छ। जस्तो- वर्षौंदेखि एउटा सडक हरेक वर्ष चार पटक खनिन्छ। त्यसले गर्दा राष्ट्रको पूँजीमा कति धेरै घाटा भइरहेको छ भन्ने प्रशासक, नीति निर्माता र नेतालाई थाहा छ। तर, उनीहरू त्यो परिवर्तन गर्न चाहँदैनन्।
एउटा सामान्य मापदण्ड बनाएर काम गर्ने हो भने एउटा सडक कहिले खानेपानीको पाइपको नाममा, कहिले इन्टरनेट र बिजुलीको नाममा भत्काउनै पर्दैन। सडक र त्यसका पूर्वाधारसँग जोडिने निकायहरूले सँगै योजना बनाएर काम गर्ने हो भने राज्यको ठूलो पूँजी जोगिन्छ भन्ने सबैलाई थाहा छ, तर उनीहरू रोक्न चाहँदैनन्। किनकि त्यस्तो गर्दा फाइदा छ। थेत्तरो र पाखण्डीको फरक नै यही हो।
काम गर्न पदमा पुगेका मानिसलाई काम नगर्दा कसरी फाइदा हुन्छ?
एउटा सानो उदाहरण हेरौं। हरेक कार्यालयमा कार्यालय प्रमुख फेरिने बित्तिकै त्यहाँको कार्पेट, फर्निचर, पर्दा लगायत सामान फेरिन्छन्। किनकि त्यसो गर्दा फाइदा छ। प्रत्येक कार्यालयको स्टोरमा काम लाग्ने महँगा सामान थन्किएका छन्। सरकारी कार्यालयमा मर्मत गरेर चलाउन सकिने खालका कैयौं गाडी ‘डम्प’ गरिएका छन्। किनकि खरीद प्रक्रियामा फाइदा छ। गाडी किन्दा, बाइक किन्दा, फर्निचर किन्दा कमिशन आउँछ, मर्मत गर्दा आउँदैन।
कुनै पनि कार्यालयमा कस्तो गाडी किन्ने, कस्ता फर्निचर हाल्ने र कहिलेसम्म चलाउने भन्ने मापदण्ड बनाउने हो भने यो सबै अनियमितता रोकिन्छ। तर, कसैले मापदण्ड बनाउँदैन। किनकि उनीहरूलाई त्यसै गर्दा फाइदा छ।
त्यसो भए यो किताब मार्फत भन्न खोजेको मुख्य कुरा के हो?
नेपाली समाज जुन असामान्य कुरालाई सामान्य मानिरहेको छ, त्यो कसरी शासक र शासन प्रणालीसँग जोडिएको छ भन्ने देखाउन खोजेको हो। हामी जस्तो जीवन बिताइरहेका छौं, पीडा भोगिरहेका छौं, यी सबैको कारक हाम्रो शासन प्रणाली र हाम्रा शासक हुन्। हाम्रा शासक स्थिर खालको तलाउ जस्ता भए। स्थिर तलाउमा पानी बग्दैन। पानी नबगेपछि त्यो पानी फोहोर हुन्छ, खानयोग्य हुँदैन। गनाएर विभिन्न जीवाणु उत्पन्न हुन्छन्। गाईवस्तुले खाँदा पनि बिरामी हुन्छन्।
कलकल बग्ने खोला हुन्छ नि, पानी बगिरहने भएकाले निर्मल हुन्छ। बगिरहने पानीमा फोहोर मिसिए पनि सफा हुन्छ। हाम्रा शासक स्थिर पोखरी जस्ता विकारजन्य भए। २०४८ सालमा गृहमन्त्री भएको माछे २०८८ सालमा समेत प्रधानमन्त्री हुने सपना देखिराखेको छ।
एउटा मान्छे जो पञ्चायतमा मन्त्री भएको थियो, अहिले गणतन्त्रमा पनि मन्त्री बनेर कीर्तिमान कायम गरिराखेको छ। उनीहरूलाई पनि राम्रोसँग थाहा छ, आफूबाट समाज पार लाग्दैन। अहिलेका नागरिकले जे खोजिराखेका छन्, त्यो दिन सक्दिनँ भन्ने उनीहरूलाई थाहा नभएको होइन। तर, मबाट मात्र पार लाग्छ भनेर पाखण्डीपन देखाइरहेका छन्।
समाज अनुसारको नेता पाइन्छ भन्ने पनि त गरिन्छ नि। एउटा समाजशास्त्रीको दृष्टिकोणबाट हेर्दा यो भाष्यमा कत्तिको सहमत हुनुहुन्छ?
मलाई यो हो जस्तो लाग्छ। किनकि म जुन ठाउँबाट आइरहेको छु, त्यहाँ यसो हेर्छु, हो जस्तो लाग्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने हामीले बनाउने प्रणालीले नागरिकको हैसियत बदल्ने सामर्थ्य राख्नुपर्छ।
नागरिकले त देशभर अझ विशेष गरेर काठमाडौं आफ्ना समस्या सम्बोधन गर्न विरोध प्रदर्शन, आन्दोलन गरिरहेकै हुन्छन्। तर, प्रभाव देखिन्न। किन आन्दोलनहरू प्रभावविहीन हुँदै गएका होलान्?
नेपाल दलीयकरण बढी भयो। प्रतिपक्ष भएन। जनजीविकाको सवालमा खासै आन्दोलन भएका छैनन्। कोभिड-१९ महामारीको वेला आन्दोलन हुन खोजेको थियो, तर आन्दोलन हुन नदिने फ्याक्टरहरू शुरू भइसकेका छन्। जस्तो कि राइड शेयरिङ, फूड डेलिभरीको काम। यस्ता ‘पार्ट टाइम’ कामले मान्छेलाई बिस्तारै आम्दानीसँग जोड्दै लगेको छ।
अर्को, आन्दोलन त्यति वेला हुन्छ, जति वेला मानिसको समस्या सामूहिक हो भनेर सोच्न थालिन्छ। जसलाई परिवर्तन चाहिएको हो, जसलाई यो समाज बस्ने जस्तो बनाउनु छ, उनीहरू सबै व्यक्तिगत तवरमा आफ्ना समस्या समाधान गर्नतिर लागेका छन्।
अझ पछिल्लो समय त तेस्रो जनआन्दोलन आवश्यक छ भन्ने बहस गरिंदै छ। के आन्दोलन विना परिवर्तन सम्भव नहुने हो र?
वास्तवमा नेपालमा जनआन्दोलन भएको छैन। विद्रोह मात्रै भयो, आन्दोलन भएन। जेलाई जनआन्दोलन भनेका छौं, त्यसमा विद्रोहको चरित्र छ कि जनआन्दोलन नै हो भनेर अध्ययन गर्नुपर्ने भएको छ। जनआन्दोलनले संरचना बदल्छ।
फेरि, बहसले मात्रै जनआन्दोलन हुँदैन। नेपाल दक्षिणएशियामै राम्रो वाक्-स्वतन्त्रता भएको मुलुक हो। शासकबारे प्रश्न उठाउन सक्छौं।
अहिले सजिलै आन्दोलन हुने भए विप्लवहरू किन मूलधारमा आउँथे। विद्रोहको स्वरूप समयक्रमसँगै बदलिन्छ। अहिलेको विद्रोह २००७ साल या २०४६ सालको जस्तो छैन। मतबाट मानिसले अभिमत बदलिइरहेका छन्। यसको केही झिल्को पछिल्लो चुनावमा देखियो। मलाई लाग्छ- २०८४ सालमा अझै देखिन्छ।
आन्दोलन र विद्रोहको चरित्रमा खास फरक के हो?
आन्दोलनले संरचना बदल्छ, विद्रोहले शासक वा त्यसका पात्र। २००७ सालको आन्दोलनले राणाको ठाउँमा राजा र दलका नेतालाई स्थापित गर्यो। पञ्चायत र त्यसपछिको लोकतन्त्र र गणतन्त्रले त्यस्तै गर्यो। पटक पटक सत्ता र शासक बदलिए, तर जनताको जीविकोपार्जनको पद्धति बदलिएन। हिजो जनता जुन अवस्थामा थिए, आज पनि त्यही अवस्थामा छन्।
थोरै फरक प्रसङ्गमा कुरा गरौं। विश्वविद्यालयमा पढाइरहनुभएको छ। अहिलेका विद्यार्थीको मनोविज्ञान कस्तो पाउनुहुन्छ?
अहिलेका बहुसंख्यक विद्यार्थी नेपालमा केही सम्भावना छैन भन्ने निष्कर्षमा पुगेका छन्। विश्वविद्यालयबाट पढाइ सकेर काम खोज्न कहाँ जाने भन्ने ठाउँ छैन। आफैं केही गर्छु भन्नका लागि आशाको किरण छैन।
अर्को, पाठ्यक्रम बदलिंदो समाजलाई बुझ्न र रोजगारीका अवसर सिर्जना गर्ने किसिमको छैन। उद्यमशीलताको वातावरण छैन। यस्ता यावत् कारण छन्, जसले विद्यार्थीलाई नेपालमा सम्भावना छैन भन्ने निष्कर्षमा पुर्याएको छ।
मैले पढाउँदै गरेको कक्षाका कतिपय विद्यार्थी एक वर्षको बीचमै विदेश गए। भिसा लागेन भने आफ्नो शैक्षिक सत्र खेर नजाओस् भनेर विश्वविद्यालय गइरहेका देखिन्छन्।
यस्तो विषयमा विश्वविद्यालयमा कत्तिको छलफल हुन्छ?
हुँदैन। विश्वविद्यालय त मृतप्राय: छन्। नेपालको जे खास समस्या हो, त्यो विषयमा विश्वविद्यालयमा बहस हुनुपर्ने हो कि होइन? त्यो समस्या समाधान गर्ने किसिमको पाठ्यक्रम बनाउनुपर्ने हो कि होइन? त्यो समस्या समाधान गर्ने किसिमको जनशक्ति उत्पादन गर्नुपर्ने हो कि होइन? म अरूलाई मात्र आरोप लगाइरहेको छैन, यस्तो हुनुमा म पनि दोषी हुँ। मेरो भाग कति हो भन्ने कुरा सबैले बुझ्नुपर्छ।
अनि नेपालमै बस्ने सोच बनाइरहेका विद्यार्थीको मनोविज्ञान चाहिं कस्तो छ?
बहुसंख्यक विद्यार्थी ‘फ्रस्टेड’ छन्। उनीहरू जे सोचेर बसेका छन्, त्यो देशमा छैन। उनीहरूलाई समाजले कहीं जान नसकेर यहाँ बसेको भन्छ। जसले गर्दा अन्योलमा छन्।
फेरि किताबमै फर्कौं। देश संघीयतामा गएपछि भ्रष्टाचार बढेको भनेर व्याख्या गर्नुभएको छ। संघीयताकै कारणले भ्रष्टाचार बढेको भन्न मिल्छ र?
विकेन्द्रीकरणले भ्रष्टाचारमा संलग्न हुने मानिसको संख्या बढेको हो। मेरो तर्क के हो भने विकेन्द्रीकरणले भ्रष्टाचारमा संग्लग्न हुने पात्रहरू बढाउँदै लग्छ। विकेन्द्रीकरणले तल्लो तहसम्म भ्रष्टाचार पुर्याउँछ। तर, केन्द्रीकृत शासनमा भ्रष्टाचार धेरै छ। किनकि केन्द्रमा हुने भ्रष्टाचारको परिणाम ठूलो हुन्छ।
यो किताब पढ्दै गर्दा भ्रष्टतन्त्रमा छौं जस्तो लाग्छ। सत्ता परिवर्तन भएको लामो समय बितिसक्दा पनि भ्रष्टतन्त्र किन फाल्न सकिएन?
समग्र शासन प्रणालीलाई हेर्दा नेपाल भ्रष्टतन्त्र नजिक देखिन्छ। राणाशासनले भएन भन्यौ, फाल्यौं। पञ्चायतले भएन भन्यौं, फाल्यौं। राजतन्त्र फाल्यौं। व्यवस्था बदल्न नागरिकले योगदान गरिरहे, तर सत्तासँगै शासक पनि परिवर्तन गर्नुपर्छ भन्ने चेतना नागरिकको तहमा पुगिसकेको रहेनछ।
किताबका कुराका थप सामग्री: