अमेरिकी स्वयंसेवकको ५७ वर्षअघिको नेपाल डायरी
थालमा एक थुप्रो भात राखिएको थियो। काँसको कचौरामा बाख्राको हड्डी सहितको मासुको झोल थियो, जसमा रौं तैरिरहेको थियो। तैपनि साह्रै भोकाएकाले हातैले भात खान थाल्यौं।
कोभिड-१९ महामारीका क्रममा रोकिएको अमेरिकी पीस कोर स्वयंसेवकको आगमन पुनः शुरू भएको छ। पछिल्लो महीना २१ जना स्वयंसेवक रहेको २०८औं समूह काठमाडौं आइपुग्यो। सन् १९६२ देखि झन्डै चार हजार अमेरिकी युवाले नेपालमा यसैगरी स्वयंसेवा गरेका छन्।
पक्कै पनि ५७ वर्षअघि आइपुगेका स्वयंसेवकको तुलनामा नयाँ आउनेहरूले एकदमै भिन्दै नेपाल भेट्नेछन्। त्यति वेला आएका अमेरिकी स्वयंसेवकले भोगेको नेपाल कस्तो थियो त?
सन् १९६६ अक्टोबर (२०२३ कात्तिक)मा काठमाडौं आएर पैदलयात्रा गरी धादिङ पुगेर त्यहाँको एक ग्रामीण विद्यालयमा डेढ वर्ष पढाएका पीस कोर स्वयंसेवक डेनियल डब्लु. एडवार्ड्सको त्यतिवेलाको दैनिकी यहाँ प्रस्तुत छः
१७ अक्टोबर १९६६ (२०२३ कात्तिक १)
काठमाडौंबाट धादिङ हिंड्ने दिन अलच्छिन आइलाग्यो। ‘आन्द्रा बटारिएकाले’ बिहानै ३ बजे जागें। खाजा खाएँ। ९ बजेतिर पीस कोरका क्षेत्रीय निर्देशक एल डाइफेनब्याक आइपुगे। काठमाडौं छोड्नुअघि मैले एक पटक डाक्टरलाई भेट्ने निधो गरें।
मेरा मालताल जीपमा राखी हामी लाजिम्पाटस्थित ‘स्नो भ्यू होटल’ तिर लागेका मात्रै के थियौं, जीपको क्लचले धोका दियो। मेरो मेडिकल किट समातें र बिस्तारामै फर्किएँ। एक्कासि एकदमै जाडो भयो र ज्वरो आयो। निकै बिरामी भएपछि मेरा साथीले डाक्टर बोलाए। उनी आउन लामो समय लाग्यो। त्यति नै वेला होटलकी घमन्डी मालिक्नी एंग्लो-इन्डियन महिलाले मलाई दिक्क लगाइन्।
एलले फर्किएर आजका लागि यात्रा स्थगन गरिएको जानकारी दिए। डाक्टरले मलाई झाडापखाला नभई भाइरसको संक्रमण भएको निधो गरे। मलाई माथिल्लो तलामा रहेको ‘बिरामी वार्ड’ मा लगियो। १०२.६ डिग्री फरेनहाइटको ज्वरो आइरहेको थियो।
त्यस्तै, साढे ४ बजेतिर केही बेर निदाएँ। साढे ८ बजेतिर राम्रै पोशाक लगाएका एक जना भलाद्मी मलाई हेर्न आइपुगे। त्यसपछि थप औषधि खाएर म बिस्तारामै फर्किएँ र भोलि के होला भनेर चिन्तित रहें।
१८ अक्टोबर (कात्तिक २)
बिहान सवा ६ बजेतिर आँखा खुल्यो। हिजोभन्दा धेरै सजिलो महसूस भइरहेको थियो। बाहिर एउटा ट्रक स्टार्ट हुने प्रयास भइरहेको आवाज आइरहेको थियो। बिहानै स्वयंसेवकको एउटा टोली हवाईजहाजबाट बाहिर जाँदै थियो। ट्रक स्टार्ट नै भइरहेको थिएन। बच र मलाई त्यही ट्रक चाहिन सक्छ भन्ने थाहा नपाउँदासम्म त त्यो ट्रकको कसरत रमाइलो नै लागिरहेको थियो।
साढे ८ बजेतिर एल आइपुगे। त्यतिन्जेल पनि ट्रक स्टार्ट भएको थिएन। आखिरमा यूएसएडको एउटा जीप आइपुग्यो। त्यसैमा चढेर हामी पीस कोरको कार्यालयसम्म पुग्यौं। त्यहाँ मालसामान राखेर ११ बजेतिर निस्कियौं।
४० किलोमिटर प्रतिघन्टामा बिस्तारै शहर छोड्न लागेका मात्र थियौं, हाम्रो जीपको अघिल्लो भाग पांग्रा नै उछिट्टिन थाले जसरी नाच्न थाल्यो। हामी फेरि पीस कोरको कार्यालयमै फर्कियौं। त्यहाँबाट रविभवनस्थित एआईडीको मुख्यालयमा गाडी फेर्न गयौं।
अर्को जीप चढेर तेल राख्न दूतावाससम्म पुग्यौं। त्यहाँ पुगेपछि मैले अगाडिको दायाँतिरको टायरमा राम्रै प्वाल परेको देखें। लाजिम्पाटस्थित वोङको ‘पीस रेस्टुरेन्ट’ मा खाना खाएपछि फेरि बाटो लाग्यौं। जीप त हाम्रै मालतालले भरिएको थियो।
चारैतिर हरियाली दृश्यावलोकन गर्दै र धूले सडकमा धूलो उडाउँदै बालाजु कट्यौं। १५ माइल जति कुदेपछि ६ हजार फिटको उचाइमा रहेको रानीपौवा पुग्यौं। त्यहाँ एउटा ट्रकलाई अघि लाग्न बाटो छोडेका मात्र के थियौं, निकै ठूलो आवाज आयो। हाम्रो पछाडिको बायाँतिरको टायर पन्चर भएको थियो।
कस्तो बिडम्बना! हाम्रो जीपमा रहेको अतिरिक्त टायरमा पनि प्वाल परेको रहेछ। फेरि जीपमा ज्याक पनि थिएन। केही सीप नलागेपछि सन् १९४० दशकको पुरानो प्यासेन्जर कार चढेर बच काठमाडौं फर्किए।
पछि बचले हामीलाई सुनाए अनुसार नौ-दश जना यात्रु बोकेको त्यो कारमा एक जना बिरामी महिला थिइन्। उनी पछाडिको सीटमा बसेर बान्ता गरिरहेकी थिइन्। काठमाडौं नपुग्दै तेल सकिएपछि बच शहरसम्म हिंडेरै पुगेका थिए।
रानीपौवामा हामीले गज्जबको दालभात खायौं। एउटा पसलको भित्रपट्टि बिस्तारा बिछ्यायौं। रातभर चुरोट किन्न आउनेले हैरान गरिरहे। कोही कसैले ढोका नढकढकाएको वेला पनि भित्रपट्टि एक जना बूढी महिलाले सानो बच्चालाई गीत सुनाइरहेको आवाज आइरह्यो।
बिहानको ४ बजेतिर त एउटा भाले बास्न थाल्यो। एउटा बाख्रा कराउन थाल्यो। ती महिला र बच्चाको असह्य कुराकानी पनि शुरू भयो। बिहानै ६ बजे हिमाल हेर्ने उद्देश्यले म उठें, तर अझै पनि बादल लागिरहेको थियो। बिस्तारै बादल फाट्दै गयो र आकाशमा जादुमयी गणेश हिमाल खडा भयो। अनि बिस्तारै तीन-चार वटा चुचुराहरू देखिन थाले।
बिहान ११ बजेतिर एआईडीको अर्को जीप आइपुग्दासम्म हामी बेचैन भइसकेका थियौं। बचले तीन वटा टायर ल्याएका थिए। त्यसैले दुई वटा टायर फेरियो। फेरि जीपमा मालताल राखियो। अनि हामी त्रिशूलीतिर ओरालो लाग्यौं। दायाँ-बायाँ हुँदै बाटो ठाडो ओरालो लागेको थियो।
निकै भिरालो भएकाले सडकले पूरै पहाडलाई फन्को लगाएको थियो। बेसीमा भएकाले त्रिशूलीमा निकै गर्मी थियो। त्यहाँ हामी जस्तै स्वयंसेवक एलेन ल्युन्डबर्गको नदी किनारमै रहेको सुविधाजनक घरमा रोकियौं। भर्खरै स्थापना भएको अस्पताल हेर्यौं, जहाँ हालैमात्र एक्स-रे मशिन जोडिएको थियो। साथै, जलविद्युत् आयोजना र जेनेरेटरको वरिपरि बलेका बत्तीहरू पनि हेर्यौं।
२० अक्टोबर (कात्तिक ४)
एल बिहानै काठमाडौंतिर फर्किए। हामी भने भरिया खोज्न लाग्यौं। दशैं भर्खरै शुरू भएकाले भरिया पाउन पनि निकै गाह्रो भयो। स्कूल, बजार जताततै खोज्दा पनि नपाएपछि भोलिपल्ट मात्रै धादिङ जाने निधो गर्यौं, किनभने भेटिएका जति भरियाले ‘भोलि-पर्सि’ भन्थे।
त्रिशूलीका अर्का स्वयंसेवक ‘मिस्टर बब’ ले आफ्ना विद्यार्थीलाई के छ (हाउडेः हाउ डु ये?) भन्न सिकाएका रहेछन्। त्यसैले बजारभरि हिंड्दा केटाकेटीले मलाई ‘हाउडे’ भनिरहे।
२१ अक्टोबर (कात्तिक ५)
त्रिशूलीका दुई जना स्वयंसेवक, बच र म गरी चार जना धादिङतिर निस्कियौं। बजारबाट करीब चार माइल हिंडेपछि तुइन चढेर त्रिशूली नदी तर्यौं। मेरो ‘केल्टी’ ब्याकप्याक र म तुइनमा थियौं, डोरीमा झुन्डेका थियौं, मानिसहरूले अर्कोपट्टिबाट डोरीले तानिरहेका थिए।
त्रिशूलीका स्वयंसेवक फर्किए। त्यसको केही बेरमा एउटा सानो नदीमा पुग्यौं, जुन पार गर्न कुनै पनि पुल थिएन। खासमा हामीले बाटो बिराइसकेका थियौं। हरेक १० मिनेटमा चौबाटाहरू आउँथे, जहाँबाट तीन-चारवटा बाटो छुट्टिएका हुन्थे। हामीले अनुमान गरेको बाटोले नदीसम्म पुर्याएको थियो।
मानिसहरूसँग बाटो सोध्दा पनि खासै कामलाग्दो जवाफ पाइँदैनथ्यो किनभने उनीहरूले हाउभाउ सहित हाम्रा लागि जटिल लाग्ने नेपालीमा जवाफ दिन्थे। कसैको पनि ठोस जवाफ हुँदैनथ्यो। कसैले धादिङ त चार कोश (आठ माइल) पर छ भन्थ्यो अनि एकाध घण्टापछि भेटिनेले ६ कोश (१२ माइल) पर भन्थ्यो। त्यसैले हामी हिंडी मात्र रहेका थियौं।
पक्कै पनि हामी गोलमटोल बाटो हिंडिरहेका थियौं। ससाना खोला तर्यौं। घरका आँगन हुँदै हिंड्यौं। खेतका ससाना आलीमा हिंड्यौं। नदी किनारमा पैतालाका धमिला डोब पछ्याउँदै हिंड्यौं। पहाडमा उकालो लाग्नभन्दा अघि लामो समयसम्म त खोलाको किनारैकिनार हिंड्यौं।
हामी एउटा पहाडको टुप्पोमा त पुग्यौं, तर बचको घुँडाले दुःख दिन थाल्यो। झन्डै ३ बजिसकेको थियो। फेरि ओरालो झर्यौं र थकाइ मार्न बस्यौं। त्यहाँ एक जना मानिससँग भेट भयो। उनले हामीलाई अर्को बिहानसम्म पनि धादिङ पुग्न सकिंदैन भन्ने बताए। तर, त्यो दयालु मानिसले हामीलाई त्यहाँबाट देखिने गाउँ लैजाने कुरा गर्यो।
त्यो पहाडी गाउँको नाम डाँडागाउँ थियो। हामी एउटा घरको आँगनमा पुगेका थियौं। अगाडि बरन्डामा उदास अनुहार भएको मानिस हुक्का तान्दै बसेका थिए। हामीलाई त्यहाँसम्म पुर्याउने मानिसले हाम्रो समस्याबारे बताइरहँदा उनले चूपचाप सुनिरहे। तुरुन्तै केही खाने कुरा ल्याइयो।
मेरो अनुमानमा त्यो दही थियो। तर, त्यति नै वेला पीस कोरको दस्तावेज याद आयो- जसमा कुनै पनि नपकाइएको खानेकुरा नखान र नउमालिएको पानी नखाने नियम उल्लेख थियो। कतिसम्म भने पानी पनि आयोडिनले सफा नगरेसम्म नखाने उर्दी थियो।
मैले धन्यवाद दिंदै किन दही खान सक्दैनौं भन्ने व्याख्या गरें। त्यति नै वेला मलाई आफ्नो झोलामा भएको बिस्कुटको सम्झना भयो। हामीले त्यही बिस्कुट बाँडीचुँडी खायौं। बचले चुरोट निकाल्यो। आखिरीमा भात खान पाइने भयो। तर, जब भात आइपुग्यो, त्यो साह्रै घिनलाग्दो थियो। थालमा एक थुप्रो भात राखिएको थियो। काँसको कचौरामा बाख्राको हड्डी सहितको मासुको झोल थियो, जसमा रौं तैरिरहेको थियो। तैपनि साह्रै भोकाएकाले हातैले भात खान थाल्यौं।
त्यतिन्जेल ससानो भीड जम्मा भइसकेको थियो। सबै जना हामी को हौं र किन आएका हौं भनेर जिज्ञासु थिए। महिला र युवतीले त्यसअघि हामीजस्ता अग्ला गोरा केटाहरू पहिला देखे जस्तो मलाई लागेन। मैले आफ्नो रेजर र सानो ऐना निकालेर दाह्री काट्न थालेको त तमासा नै भइदियो।
त्यहाँ मैले दशैंको पिङ बनाउँदै गरेको देखें। त्यो निकै गज्जबले तयार गरिएको थियो। हाम्रा घरबेटीको कौसीमा लुगाको सिरानी हालेर आफ्नो स्लीपिङ ब्यागमा छिर्दा रातको साढे ८ बजेको थियो।
२२ अक्टोबर (कात्तिक ६)
चिसो र बेस्वादिलो खाना अलिकति खाएर बिहान ८ बजेतिर त्यहाँबाट बाटो लाग्यौं। दुई घन्टामा धादिङ पुगिन्छ भन्ने हाम्रो अनुमान गलत सावित भयो। बाटोभरि ठूला ठूला माकुरा देखिए।
उकालो लाग्यौं। त्यो पर्वत चढेपछि पहाडको फन्को लगाउन थाल्यौं। कहिले घुमाउरो बाटो, कहिले उकाली, कहिले ओराली। निकै सुन्दर उपत्यका थियो, तर हामीलाई थकान र कमजोरीले गालिरहेको थियो। मध्याह्नसम्म एउटा सुन्दर झरना पार गरिसकेका थियौं। त्यसपछि एउटा गाउँमा गयौं। त्यहाँबाट अर्को पहाडको उकालो चढ्यौं।
हामी निकै नै गलिसकेका थियौं। छिटो छिटो र लामो थकाइ मार्न थालेका थियौं। साढे १ बजेतिर आयोडिनको बास्नादार पानी पिउन अडिएको वेला अर्का एकजना नेपालीले हामीप्रति दया देखाए। उनले हामीलाई केही सुन्तला र उमालेको दुध दिए। त्यो हामीलाई ठूलो नैतिक आड मात्र थिएन, चिन्दै नचिनेका विदेशीप्रति पनि नेपालीले देखाउने उदारता पनि थियो।
हामीले चढ्नुपर्ने अन्तिम पहाडको टुप्पोमा पुगेपछि तल हेर्दा देखियो, हामी पुग्नुपर्ने धादिङ बजार। एउटा कच्ची बाटो हुँदै त्यहाँ पुग्नासाथ हामीलाई जिज्ञासुहरूको एउटा हुलले घेरिहाल्यो। हामीलाई सीधै हेडमास्टरको घरमा पुर्याइयो।
तुरुन्तै हेडमास्टर बद्री देखापरे। २२ वर्षका जवान उनी बीए पढ्दै थिए। म आउने भनेको तीन दिनसम्म पनि नपुग्दा उनी निराश भइसकेका थिए। जबकि मलाई नै पर्खेर उनी दशैंका लागि आफ्नो घर बाग्लुङ गएका थिएनन्।
(अपडेटः दुई महीनापछि एक रात बद्रीले कक्षा ७ मा पढ्ने एक जना केटीलाई लिएर गाउँ छोडे। मानिसहरूले मलाई ‘ऊ भाग्यो’ भन्थे। त्यसपछि मैले उनलाई कहिल्यै देखिनँ। हाम्रा लागि नेपालसँग अनेकौं आश्चर्यहरू थिए।)
मीठो खाना पाएपछि मेरो ज्यानमा फेरि ऊर्जा आयो। म डाँडाको टुप्पोमा रहेको भैरवस्थान मन्दिरसम्म चढें। गतिलै उकालो चढेपछि त्यहाँ पुगिन्थ्यो। पुग्नासाथ मैले गज्जबको दृश्य देख्न पाएँ। केही सय मानिस पशुलाई बलि चढाएको हेर्न जम्मा भएका थिए। तीमध्ये अधिकांश नयाँ लुगा लगाएका मगरहरू थिए।
दुर्गाको आराधनाका लागि एउटा पाठो, एउटा राँगो र केही ससाना बंगुरको टाउको काटियो। त्यो अचम्मको चलन हेर्दा मैले सोचें, ‘यो नै सांस्कृतिक धक्का हो।’
पाँच महीनाअघि म उत्तरी क्यालिफोर्नियाको सुन्दर युनिभर्सिटी क्याम्पसमा थिएँ। त्यतिन्जेल मलाई पृथ्वीको अर्को कुनामा यस्तो हुन्छ भन्ने पनि थाहा थिएन। बद्रीले मलाई अंग्रेजीमा त्यो मन्दिरको इतिहास र भगवान्बारे विस्तारमा बताए। उनले मलाई त्यहाँ रगत बगेको राम्रोसँग हेर्न लगाए।
मन्दिरबाट बजारको बाटो भएर फर्कियौं। त्यहाँ मलाई स्थानीय गण्यमान्यसँग परिचय गराइयो। उनीहरूले नयाँ विदेशी शिक्षकलाई निकै सम्मानका साथ स्वागत गरे। त्यसपछि म बद्री बसिरहेको पसलको छेउको एउटा बुँइगलको बिस्तारामा निदाउन पुगें।
२३ अक्टोबर (कात्तिक ७)
पूर्व हेडमास्टर एवं संस्कृत र नेपाली विषयका शिक्षक शर्मासँग बिहानीपखको चिया खान पहाडमा पुग्यौं। मानिसहरू तास खेलेको, परिवारको पूजापाठ गरेको र निधारमा टीका लगाएको हेर्यौं। त्यसपछि आँगनमा खाना खान बस्यौं, सयौं झिंगा भुनभुनाइरहेका थिए। खाना खासै बेस्वादिलो थिएन। गतिलोसँग नपाकेका कतिपय खानेकुराले बीच बीचमा बाधा पुर्याए पनि केही पनि बाँकी रहेन। मेरो थालमा बाँकी रहेको पनि एउटा बाख्राले खायो।
दिउँसोपख भने म सन् १९०० यताको अंग्रेजी दर्शनशास्त्र पढ्न बसें। नेपालमा म जुन अवस्थामा थिएँ, त्योसँग त्यो किताब कतैबाट पनि मेल खाँदैनथ्यो। तर, मैले त्यस बाहेक अरू कुनै किताब बोकेको थिइनँ। केही फेरफार गर्ने लुगाफाटा मात्र बोकेर आएको थिएँ।
साँझ ६ बज्नासाथ नै झमक्कै रात पर्यो। कुनै बत्ती नदेख्दा अचम्म पनि लाग्यो। अहिले म मट्टितेल बत्तीको उज्यालोमा यो दैनिकी लेखिरहेछु।
शिव नाम गरेका एउटा ठिटाले हाम्रा लागि खाना पकाउन थाले। मैले उनलाई हात धुन त भनें। हामीले चाहे जसरी खाना धुन र तयार पार्न त सक्दैनौं। हामीले गर्न सक्ने एउटै काम हो, पिउनभन्दा ३० मिनेटअघि पानीको बोत्तलमा आयोडिन हाल्ने।
बिहानपख मेरो पेट अप्ठ्यारो भए पनि बिरामी चाहिं भएनौं। हामी बसेको घर पछाडि एउटा सानो कुलो र थुम्को छ, त्यही नै पुरुषहरूका लागि सामुदायिक शौचालय हो। छाडा छोडिएका गाईवस्तुले पनि त्यहीं दिसापिसाब गर्छन्।
२४ अक्टोबर (कात्तिक ८)
निकै पीडाका साथ जागें। म सुतेको काठको खाट निकै सपाट र कडा छ। त्यसमाथि एउटा पातलो गुन्द्री र बिछ्यौना छ। मसँग एउटा पनि एक रुपैयाँवाला अन्तर्राष्ट्रिय हवाईपत्र छैन, त्यसैले अमेरिकी सञ्चारसँग जोडिन सकिनँ। बद्रीले भोलि पर्सिसम्म मेरा लागि कोठा फेला पर्ला भन्ने आशा गरेका छन्। तर, केही दिनसम्म पनि त्रिशूलीसम्म पुगेर मेरा मालताल ल्याइदिने भरिया फेला पर्ने देखिंदैन।
दिउँसोपख विद्यालय हेर्न गएँ। राम्रो, अरू के नै भन्न सकिन्छ र? बाहिरबाट हेर्दा यो राम्रै देखिन्छ। ढुङ्गामाटोको पर्खाल र स्लेटको छानो भएको यो विद्यालय नयाँ हो।
भित्रपट्टि भने त्यहाँ केही पनि छैन। एक खण्डमा तीन वटा कक्षाकोठा र अफिस छ। तिनीहरूलाई पर्खालले छुट्टाएको छ। सात फुट जतिको अग्लो त्यो पर्खालले छाना छोएको छैन। भुँइ धुलाम्मे छ, जहाँ केही बेन्च गाडिएका छन्।
विद्यालय भवनभित्र बच्चाले पाठ गरिरहेको आवाज आउने भएकाले मैले स्कूलबाट अलिकति परको चौरमा पढाएँ। स्कूलको अफिसमा केही पुराना नक्शा, चार्ट, तीन वटा बोक्न मिल्ने कालोपाटी, एउटा टेबल, केही कुर्सीका साथै एउटा क्यारेमबोर्ड छ, जुन शिक्षकका लागि मनोरञ्जनको एउटै सामग्री हो। आफू अघिल्तिरको परिस्थित पचाउने प्रयास गर्दै त्यहाँ बसिरहें।
भवनको अर्कोपट्टि कुनै विभाजन छैन। एउटा कुनामा कक्षा १ र २ का गरी ७० जना विद्यार्थी बस्छन्। अर्को कुनामा कक्षा ३ देखि ५ का विद्यार्थी बस्छन्। शुरूमा मलाई दिइएको विद्यार्थीको संख्या अलि बढाइचढाइ गरिएको थियो। थुप्रै विद्यार्थी भर्ना भए पनि नियमित स्कूल आउने निकै कम छन्।
पहिलो र दोस्रो कक्षाका गरी बढीमा २० जना विद्यार्थी आउने गर्छन्। मलाई कक्षा ८ को कक्षा शिक्षक बनाइएको छ, जहाँ सात-आठ जना मात्रै नियमित आउँछन्। छात्राहरू त निकै कम छन्।
बद्रीले मलाई केही स्थानीय बासिन्दा स्कूलको विपक्षमा रहेको समेत बताए। उनका अनुसार स्कूलले आफ्नो स्वार्थमा बाधा पुर्याउँछ भन्ने त्रासमा छन्, उनीहरू। त्यसैले बद्रीले वेलाबखत तलब पनि पाउँदैनन्। सरकारले स्कूललाई वार्षिक दुई हजार मात्र दिने गर्छ। बाँकी खर्च विद्यार्थीसँग उठाएको शुल्क र चन्दाबाट पुर्याउनुपर्छ। अंग्रेजी शिक्षकका रूपमा मेरो काम मेरा लागि विशिष्ट छ।
२८ अक्टोबर (कात्तिक १२)
हाम्रा सुटकेश, केही खाद्यान्न, पीस कोरले दिएका सरसामान आफ्नो डोकोमा बोकेर चार जना भरिया त्रिशूलीबाट आइपुगे। मैले उनीहरूलाई जम्माजम्मी ७० रुपैयाँ दिएँ। बचले त्रिशूलीमा १० रुपैयाँ अग्रिम दिएका थिए। त्यसैले डेढ घन्टाको कामका लागि हरेक भरियाले २० रुपैयाँ पाए।