भोक र भोगको ज्वाला
यौन मनोविज्ञानको पाटोलाई कुशल तरीकाले प्रस्तुत गरेकी कथाकारले भोक र भोगका कारण जन्मिने पुरुषको हिंसात्मक प्रवृत्ति देखाएकी छन्। यौन मनोदशाले निम्त्याउने द्वन्द्व र अपराधबारे कथाले कहालीलाग्दो चित्रण गरेको छ।
नेपाली आख्यानको संसारमा अलग पहिचान बनाउन सफल आख्यानकार हुन्, मनिषा गौचन। समाजमा भइरहेका घटना, बहिरहेका हावाबाट फरक पाटो टिपेर शब्दमा बुन्नु उनको विशेषता हो। अर्थात्, अन्य लेखकका आँखाले नदेखेका, मनले नछोएका र कल्पनामा नअटेका कथा उनको रोजाइ हो।
२०६१ सालमा फूलहरूको रङ छैन कवितासङ्ग्रह निकालेकी गौचनको वल्लीको डायरी (२०६३) र ह्वाइट केन (२०७०) उपन्यासपछि तेस्रो आख्यानका रूपमा हालै प्रकाशित प्रतिवहनमा उनको यही फरकपन पाउन सकिन्छ। सङ्ग्रहमा एक्काइस वटा कथा छन्।
कथाहरूमा पुरुषसत्ताका कारण महिलाले भोग्नुपरेको पीडा, अशक्त मानिसले बाँच्नका लागि गर्नुपर्ने संघर्ष, हुनेखाने र हुँदा खानेबीचको अन्तर, पशुप्रेम, गृह कलह, धनी परिवारका सन्तानले हिंडिरहेको बाटो, युवाका निमोठिएका सपना लगायत विभिन्न विषय छन्। झ्वाट्ट हेर्दा कथाका विषय अन्य कथाकारका कथासँग समानधर्मी जस्तो देखिने भए पनि गौचनले प्रत्येक कथाका पात्रलाई फरक दिशाबाट बगाएकी छन्। यही भाव दिने गरी सङ्ग्रहको नाम प्रतिवहन राखिएको देखिन्छ। सङ्ग्रहमा यो शीर्षकको कथा छैन।
कथामा नेपाली समाजका जल्दाबल्दा विषयलाई सजीव ढङ्गले चित्रण गरिएको छ। कथा पढ्दै गर्दा आँखामा समाज र यहाँका पात्र नाच्न थाल्छन्, ती पात्रका चरित्र उफ्रिन थाल्छन्। समाजका असल र खराब दुवै थरी पात्रका मनोदशालाई कथाकारले न्याय पुग्ने गरी स्थान दिएकी छन्।
कथामा परम्परागत अन्धविश्वासी सोचले जर्जर बनाएका सम्बन्ध र उत्तरआधुनिक सोचले यान्त्रिक र विलासी बनाएका जीवनसम्मका पाटा छन्। यस्तै, मानिसले भोग्नुपरेका पारिवारिक, मानसिक, आर्थिक पीडाको पनि जीवन्त उद्घाटन गरिएको छ। यौन मनोविज्ञानको पाटोलाई कुशल तरीकाले प्रस्तुत गरेकी कथाकारले भोक र भोगका कारण जन्मिने पुरुषको हिंसात्मक प्रवृत्ति देखाएकी छन्। यौन मनोदशाले निम्त्याउने द्वन्द्व र अपराधबारे कथाले कहालीलाग्दो चित्रण गरेको छ।
विलासी जीवनमा मस्त धनाढ्य परिवारका मानिसले सन्तानलाई सुसंस्कार दिन चुक्दा उनीहरू कसरी कुबाटोमा फस्न पुग्छन् भन्ने देखाइएको कथा पढ्दा कथाकारले आजको समाजको गति र मति राम्ररी छामेको थाहा हुन्छ। आधुनिक जमानाका मानिसलाई असीमित र अस्वाभाविक चाहनाले निम्त्याउन सक्ने दर्दनाक घटनाप्रति सजग रहन आग्रह गरिएको कथामा आजको शहरिया समाजको यथार्थ झल्काइएको छ।
समाजमा नारीको अवस्था कस्तो छ भनेर बुझ्न चाहनेका लागि कथाकारले सचेत र हक्की भएर समाजको यथार्थको पोयो फुकाएकी छन्। आजको समाजमा पनि महिलाले बाँच्न पुरुषसत्ताका जरा समाइरहेका छन्। एकल महिलाले आफ्नो अस्तित्व स्वीकार गर्न हिचकिचाउँदै पुरुषलाई जिन्दगीको मियो मानेको विडम्बनालाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ। श्रीमान् साथमा नभए पनि चुरा, पोते र सिन्दूरमा आफ्नो जीवन सुरक्षित रहेको मान्ने महिलाको कथाले पुरुषसत्ताको जञ्जालमा उकुसमुकुस जिन्दगीको कहर बोलेको छ।
हामी शहरमा बसेर नहरका कुरा गर्छौं, तर नहरमा पसेर दुई छाक टार्न असीम दु:खमा पौडिरहेका मानिसलाई पनि आफ्नै तराजुमा राखेर आफूखुशी तौलिदिन्छौं। ती दूरदराजका व्यथालाई कथाकारले कथामा समेटेर न्याय दिएकी छन्। यस्तै, राजनीतिक कुसंस्कारले प्रताडित गाउँ र गाउँका शोषक र शोषित वर्गको तस्वीर पनि कथाले खिचेको छ। सभ्य भनिएको समाजका मानिसको चरित्र कसरी अभद्र र क्रूर बन्दै गएको छ भन्ने क्रूर यथार्थसँग पनि कथाले साक्षात्कार गराइदिन्छ।
गौचनका कथा पढिसक्दा यस्तो लाग्छ, कथा कथाका लागि मात्र नभएर बहस र विमर्शका लागि रचिएका हुन्। उसो त सबै कथाकारले लेखेका कथा समाजका वास्तविकता नै हुन्। कसैका कथामा अलि बढी कल्पना र कसैका कथामा अलि बढी यथार्थ होलान्। कल्पनाको धरातल यथार्थ नै हो र कल्पनाको प्रवाह अलि बढी भएपछि स्वैरकल्पना बन्नु कथा लेखनका स्वाभाविक रङ हुन्। तर, गौचनका कथा समयको नाडी छामेर, यथार्थको वरिपरि घुमेर लेखिएका हुन्।
उनले आफ्नो सामर्थ्यले भ्याएजति समाजका पात्रहरूलाई भेला गराएकी छन् र कथामा आफ्नै रङ पोतेकी छन्। त्यो रङमा पाठकले आधुनिक समय र समाजको सग्लो अनुहार प्रस्टसँग पढ्न सक्छन्।