धान रोपाइँ एकचौथाइ मात्रै, गत वर्षभन्दा थोरै
असारको तेस्रो साता बितिसक्दा पनि धान रोपाइँ एकचौथाइ हाराहारीमा मात्रै भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार २१ सम्म देशभर धान रोपाइँ हुने कुल क्षेत्रमध्ये २६.७१ प्रतिशतमा मात्रै रोपाइँ सकिएको छ। यो गत वर्षको तुलनामा थोरै हो। गत वर्षको यही अवधिमा ४० प्रतिशत रोपाइँ सकिएको थियो।
मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन शुरू हुन ढिलो भएका कारण धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। यो वर्ष १४ जून (जेठ ३१ गते)मा नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन प्रवेश गरेको थियो। गत वर्ष मनसुन छिटै शुरू भएकाले धान रोपाइँ चाँडो भएको थियो। गत वर्ष ५ जूनमा नै मनसुन प्रवेश गरेको थियो।
कृषि मन्त्रालयले देशका विभिन्न क्षेत्रमा साउन १५ गतेसम्म रोपाइँ हुने भएकाले शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान गरेको छ। नेपालमा १३ लाख ५७ हजार ८१६ हेक्टरमा धानखेती हुन्छ। यसमध्ये तीन लाख ६२ हजार ६२५ क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।
सबैभन्दा धेरै सुदूरपश्चिममा ४८.९ प्रतिशत र कर्णालीमा ४५ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ। देशको अन्नभण्डार भनेर चिनिने मधेशमा ९.५ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सकिएको छ।
रोपाइँ ढिलो हुँदा धानको उत्पादनमा कमी आउन सक्ने जोखिम हुन्छ। धान पर्याप्त पानी चाहिने बाली भएका कारण मनसुनी प्रभाव बढी भएकै वेलासम्म बोट सप्रियो भने धान बढी फल्ने सम्भावना हुन्छ। यद्यपि बीउबीजन, मलखाद, रोगकीरा लगायत कारणले पनि धानको उत्पादनमा प्रभाव पार्छ।
नेपालमा धान प्रमुख कृषि बाली हो। आर्थिक वर्ष २०७९/८० मा नेपालमा ५४ लाख ८६ हजार टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ। नेपालको कुल कृषि उत्पादनमा धानको योगदान करीब २१ प्रतिशत छ।
नेपालको अर्थतन्त्रमा कृषिले करीब एकचौथाइ हिस्सा ओगट्छ। देशका आधाभन्दा बढी किसान परिवारका लागि धान महत्त्वपूर्ण खाद्य उत्पादन हो। त्यसैले धान बाली नेपाली अर्थतन्त्र र आजीविकाका लागि महत्त्वपूर्ण मानिन्छ।