रहस्यहरूको गर्भमा एउटा रकस्टार
प्रायः कालो ब्याग सहित कालो ज्याकेट र कालो जिन्समा देखिने रोबिन तामाङ खासमा एक रकस्टार थिए। अभिनेता थिए। एक भला मानुष थिए।
अनुहारभरि ‘पियर्सिङ’ गरेको ६ फिटे भीमकाय ती ‘फेसन आइकन’ मा के थियो कुन्नि, मानिसहरू ‘विदेशी’ भनेर झुक्किन्थे। नझुक्किऊन् पनि किन? उनको कानमा तीन वटा मुन्द्रा हुन्थ्यो। देब्रेतिर दुई वटा, दाहिनेतिर एउटा। अलि पहिले त नाक समेत छेडेका थिए।
प्रायः कालो ब्याग सहित कालो ज्याकेट र कालो जिन्समा देखिने रोबिन तामाङ खासमा एक रकस्टार थिए। अभिनेता थिए। एक भला मानुष थिए।
तिनै रोबिन असार १९ गते बूढानीलकण्ठस्थित आफ्नै घरमा मृत भेटिए।
यस्तो लाग्छ, उनी आवश्यकताभन्दा ज्यादा अन्तर्मुखी थिए। सङ्गीत र अभिनय क्षेत्रकै धेरैजसो मानिससँग ‘हाई-हेलो’ मात्रै गर्थे। उनको अन्तरङ्ग सम्बन्ध सीमितसँग मात्रै हुन्थ्यो। पछिल्लो समय त उनी लगभग भूमिगत जस्तै थिए। साथीहरूसँगको भेटघाट पनि पातलिएको थियो।
त्यसैले पनि उनको पारिवारिक जीवन, शारीरिक एवं मानसिक स्वास्थ्य रहस्यको गर्भमै रह्यो।
यी रकस्टारको फोन नम्बर प्रायः बदलिइरहन्थ्यो। उनी घरीघरी फोन हराइरहन्थे। कहिले कन्सर्टमा, कहिले स्टुडियोमा त कहिले क्याफेमा फोन छुट्थ्यो। आफ्नै हुस्सूपनबाट हैरान भएपछि रोबिन महँगो फोन बोक्दैनथे। सस्तोमस्तो फोनबाटै काम चलाउँथे।
सन् १९६३ मा सिंगापुरमा जन्मिएका रोबिनको जीवन आफैंमा एउटा तिलस्मी कथा जस्तो छ। उनका पिता ब्रिटिश आर्मीका मेजर थिए भने आमा नर्स। बुबा तामाङ, आमा छेत्री। बेलायती सेनाको १० गोर्खा राइफल्समा रहेका पिताको बटालियन दुई-दुई वर्षमा बदली भइरन्थ्यो। त्यसैले उनले एकखाले फिरन्ता जीवन बिताए।
रोबिन कहिले हङकङमा पढे, कहिले ब्रुनाईमा। कहिले बेलायत बसे त कहिले सिंगापुर। रोबिन मात्र होइन, उनका दाजुदिदीको नियति पनि त्यस्तै भयो।
उनका बाजे मिरिकका थिए भने बज्यै सिलोङकी थिइन्। तर, मातापिताको अन्तरजातीय भागी विवाह भएकाले घरपरिवारसँग खासै सम्बन्ध थिएन।
बाल्यकालमै जिमी हेन्ड्रिक्स, डीप पर्पल आदिको प्रभावमा परेका रोबिनमा सङ्गीतको लत कति भने बाथरूममा गितार सहित तीन-चार घण्टा बस्थे। क्यासेट प्लेयर लगेर त्यसमा आफ्नो आवाज भरिरहन्थे। सिंगापुरको अलेक्ज्यान्डर स्कूलमा पढ्दा उनले ‘एफ ट्रूप’ समूह खोलेका थिए।
नेपाली अभिभावक आफ्ना सन्तानमा डाक्टर, इन्जिनीयर, पाइलटको छाया देख्छन्। त्यसैले रोबिनका दुई दाजु डाक्टर र पाइलट बने, दिदी शिक्षिक बनिन्। “सङ्गीत खेलेर के खाने?” भन्ने अभिभावकको प्रश्नले उनलाई जहिल्यै लखेटिरह्यो।
आफ्ना लागि भन्दा पनि बाबुआमाका लागि ब्रिटिश हाई स्कूलमा ‘ए लेभल’ सकेपछि टोरन्टो (क्यानडा) गए। हम्बर कलेज टोरन्टोमा दोस्रो ब्यान्ड ‘क्लब तामाङ’ खोले। युनिभर्सिटी अफ टोरन्टोबाट मेकानिकल इन्जिनीयरिङमा स्नातकोत्तर गरे। इन्जिनीयरिङ पेशामै क्यानडामा १७ वर्ष बिताए।
रोबिन सन् १९९६ मा मात्र तीन महीनाका लागि भनेर नेपाल आएका थिए। उनलाई सङ्गीतको सपनाले यसरी लठ्याएछ कि उनी क्यानडा फर्किंदै फर्किएनन्। उनले लेकसाइड, पोखराको एम्स्टर्डम बारमा भेटिएको लूजः ब्यान्डसँग सहकार्य गरे र बन्यो, ‘रविन एन्ड लूजः’। नेपाल भाषामा लूजःको अर्थ रहेछ, घामको झुल्का।
ब्यान्ड खोलेको एक वर्षमै आफ्नो पहिलो एल्बम मेरो नेपालमा रोबिनले अरुण थापाको ‘जति माया लाए पनि’, डेनी डेनजोङ्पाको ‘चिसो चिसो हावामा’, ओमविक्रम विष्टको ‘म मौनतामा अल्झिरहेको’ आदिको कभर गीत समावेश गरेका थिए।
सन् २००० मा आएको उनको त्यो पहिलो एल्बम सुपरहिट भयो। त्यसका आधाजसो गीत नेपालीमा थिए, आधाजसो अंग्रेजीमा।
‘रक एन रोल’ को कुनै स्वाद नभएको ठाउँमा उनको ‘करिअर’ थालनी भयो। ‘कब वेब’, एक्स ब्यान्ड’, ‘नमस्ते’, ‘१९७४ एडी’ आदि ब्यान्डसँगै संघर्षमा हेलिए। त्यसपछि उनका आधुनिक आँगन, भूलमा भुल्यो एलबम निस्किए।
रोचक त के भने, झन्डै ६ दर्जन नेपाली गीत गाएका रोबिनलाई देवनागरी लिपि पढ्नै आउँदैनथ्यो। उनले कहिल्यै कखरा सिकेनन्। अक्षर पनि चिनेनन्। उनले लेखेको गीत रोमनमै हुन्थ्यो। अंग्रेजीलाई उनी आफ्नो ‘फर्स्ट ल्याङ्वेज’ मान्थे। ३३ वर्षको उमेरसम्म एक पटक पनि नेपाल आउन नपाएको, नेपाली स्कूलमा पढ्ने त सम्भावनै नभएकाले उनको हुलियामा विदेशी हावापानी थियो।
कसैले छिटो छिटो नेपाली बोले उनलाई गाली गरे जस्तो लाग्थ्यो। कसैले नेपाली फरर बोल्न थाल्यो भने उनी बुझ्दैनथे।
नेपाली बोल्नै नजाने पनि रोबिनले अंग्रेजीमा गाउने थुप्रै प्रतिभालाई नेपालीमा गाउन हौस्याए। गायिका अभया सुब्बालाई ‘रक’ मा उतार्ने पनि उनै थिए। रोबिनको उत्साहले नै उनले ‘तिम्रो लागि’ जस्ता गीत गाइन्। थुप्रै कन्सर्टका लागि रोबिनले नै अभयाको नाम सिफारिश गरे।
लामो समय एकै खालको काम गर्दा उनलाई एकसरताबोध भइसकेको थियो। सङ्गीतको स्वाद बदल्न पनि त्यो आवश्यक भइदियो। अन्ततः रोबिन लूजःसँग छुट्टिए। र बन्यो, ‘रोबिन एन्ड न्यू रेभोल्युशन’।
यसैको ब्यानरमा निस्किएको केटाकेटी उनकै शब्दमा भन्दा, ‘हिट खायो’। त्यसपछि निस्कियो, एल्बम १३,००० र हाम्रो देश।
त्यसो त रोबिनले हिट्स एफएममा रेडियो जक्की भएर अंग्रेजी गीत सम्बन्धित साप्ताहिक कार्यक्रम पनि चलाए। यति मात्र होइन, सङ्गीतमा रम्नकै लागि ठमेलको होटल वैशाली र फंकी बुद्धको छेउमा ‘ब्याम्बो क्लब’ रेस्टुराँ खोलेर १४ वर्ष चलाए।
१८ देखि २७ वर्षसम्मका हजारौं ‘डाइहार्ड फ्यान’ रोबिन जहाँ जान्थे, त्यहाँ पुग्थे। रोबिन पनि उनीहरूका लागि गाउन पाउनु अहोभाग्य सम्झन्थे। जोश चल्यो या धामी चढ्यो भने लुगा खोलेको पनि पत्तो पाउँदैनथे। मञ्चमा उक्लिएपछि ‘रक स्टाइल’ मै दर्शकसँग बातचित गर्थे। उनको आदेशमा दर्शकहरू एक कदम पछाडि जान होस् या नाङ्गै उफ्रन होस्, तम्तयार हुन्थे।
यी ‘करिस्मेटिक पफर्मर’ ले आफ्नो साङ्गीतिक जीवनमा दुई पुस्ताका फ्यान जम्मा गरिसकेका थिए।
रोबिनको ब्यान्डमा श्याम महर्जन (बेस प्लेयर), सनम श्रेष्ठ (ड्रमर) र दीपेश सिंह (लिड गिटारिस्ट) थिए। भोकल र रिदम गितारको मोर्चा उनी आफैं सम्हाल्थे। उनले कहिले पनि ब्यान्ड विना गाएनन्। ‘लाइभ म्युजिक’ प्रति उनको विश्वास अप्रतिम थियो। ‘कभर सङ’ गाए पनि बाजा उनलाई ‘ओरिजिनल’ नै चाहिन्थ्यो।
रोबिनका झन्डै ६ दर्जन गीत ‘सेन्टिमेन्टल’ या ‘मेलोडी’ मानिंदैनन्। दर्शकले पनि उनीसँग त्यस्तो आकांक्षा राखेनन्। उनी भनिरहन्थे, ‘त्यो त अरू सोलो आर्टिस्टले गाएकै छन् नि! मैले किन गाउनुपर्यो?’
रक सङ्गीतलाई मूलधारमा ल्याउने रोबिनका गीत माया र प्रेमभन्दा पनि जीवनका घटना, सामाजिक परिस्थिति र राजनीतिसँग जोडिएका छन्। ‘केटाकेटी’, ‘मुगलान’, ‘माइला भाइ’, ‘स्वतन्त्र जीवन’, ‘एकता’ आदि त्यसकै दृष्टान्त हुन्। उनको रक सङ्गीतले आफ्नो र अरूको अधिकारका लागि उभिन बाध्य बनाउँछ।
कलाकार भएपछि सामाजिक उत्तरदायित्व बोध हुनुपर्ने रोबिनको धारणा थियो। माओवादी द्वन्द्वका वेला राजधानीको न्यूरोड गेटमा बम पड्केपछि उनको संवेदनशील कलाकार हृदय शान्त रहन सकेन। त्यति वेला स्कूले केटाकेटी दिनहुँ मरिरहेका थिए। सेना र माओवादी बन्दूकको जोर छायामा बालबालिकाले खेल्ने ठाउँ समेत नपाएको झोकमा उनले लेखेः
था’छ मलाई उन्नति भयो, फेर्यो हाम्रो जिन्दगी
भन न मलाई कहाँ खेल्छ हाम्रो केटाकेटी, हाम्रो केटाकेटी?
पछिल्लो समय सङ्गीतबाट कलाकार तान्ने ‘मार्केटिङ पोलिसी’ चल्यो। रोबिनलाई आफ्ना स्मार्ट फ्यानहरूले सिनेमातिर तान्ने नै भए। केवल एक पटकका लागि भनेर छड्के फिल्ममा उनले आफ्नो खलनायकी प्रस्तुत गरे। उनको अग्लो कद अनि रकस्टार लुक्स सिनेमामा खूबै जम्यो।
विसं २०६७ मा रिलिज भएको छड्केमा रोबिन ग्याङस्टर छेवाङको भूमिकामा थिए। त्यसपछि मुखौटामा चेपाङको हुलियामा देखिए। वान वे, जय पर्शुराम, मेरो पैसा खै, नाका, दाल भात तरकारी, बादशाह जुट, कमान्डर, चिसो एस्ट्रे आदि एक दर्जनभन्दा बढी सिनेमामा काम गरे। कतिपय सिनेमामा ट्रेलर र पोस्टरमा उनको एकलौटी थियो।
अमेजन प्राइमको हिन्दी वेबसिरिज दी लास्ट आवरमा पनि रोबिन खलनायकै थिए। पोजेटिभ रोल नगर्ने भन्ने प्रश्नमा उनी भन्थे, “निर्देशकले पत्याए त्यो पनि गरुँला नि।”
छड्के २.० पछि ‘रिटायर’ हुने सोचेका रोबिन अकस्मात् जीवनबाटै ‘रिटायर’ भइदिए।
एकैचोटि सुपरस्टारहरूसँग काम गर्न पाउनुलाई रोबिन चिट्ठा परेको सम्झिन्थे। युवाहरूका कारण सिनेमामा तानिएको बताउने उनी नेपालको भविष्य युवाकै हातमा रहेको बताउँथे।
रोबिनले नेपाली सङ्गीतमा पाइला राख्दा यसले उद्योगको रूप नै लिएको थिएन, कमाउने उद्देश्य त परै जाओस्। जसले लगानी गर्थ्यो, मुनाफा उसैले कुम्ल्याउँथ्यो।
पछिल्लो समय उनको मुख्य पेशा सङ्गीतभन्दा पनि अभिनय थियो। सिनेमा, कन्सर्ट, रियालिटी शो, मोडलिङ, जिंगल आदि गुजाराका साधन थिए।
पर्यटकका रूपमा ठमेल आइपुगेकी फ्रान्सेली युवती हेलेन जुलियलाई ‘म्युजिक खेलेरै’ पट्याएका थिए, ३४ वर्षको उमेरमा रोबिनले। भेटघाटको पाँच महीनामै विवाह गरे। फ्रान्समै फाइन आर्टस् पढेकी हेलेन सबथोक त्यागेर नेपालमै बसिन्। उनीहरूका दुई छोरी भए, तारा र जाड। अहिले दुवै छोरी फ्रान्समा बस्छन्।
लामो रकयात्रामा रोबिनलाई आफ्नो स्टेटसप्रति कहिल्यै दुःख मनाउ भएन। किनभने उनी आफ्ना लागि काम गर्थे। श्रोता र दर्शकको आत्मा छुन सक्नु नै उनका निम्ति सबैभन्दा ठूलो पुरस्कार थियो।
नाका सिनेमामा उनले स्वर दिएका थिए, ‘हिंड्छु म एक्लै, जानु छ टाढा, छु अलि बेग्लै’।
रोबिन मात्र ६० वर्षे उमेरमा धेरै नै टाढा गए, नफर्किने बाटोमा। अलबिदा रकस्टार!