प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगन भएको हो। संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकिएको जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। एमालेका सांसदको विरोधका कारण शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएको थियो। एमालेले विरोध जारी राख्ने भएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको हो।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति विवादित बनेको थियो। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमा आँच पुगेको भन्दै एमालेले विरोध गर्दै आएको छ। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्ने नदिने एमालेको अडान छ।