फोहोरबाट उत्पादित ग्यास पाइपबाट घोराहीका घर घरमा
संघीय राजधानीमा फोहोर व्यवस्थापन ठूलो समस्या भइरहेका वेला लुम्बिनीको राजधानीमा भने फोहोरबाट ग्यास उत्पादन गरेर पाइप मार्फत स्थानीयका घर घरमा वितरण गर्न थालिएको छ।
दाउरामा खाना पकाउँदै आएकी दाङको घोराही उपमहानगरपालिका-१६ की लक्ष्मी चौधरीलाई एक महीनायता भने हाइसन्चो छ। जेठयता दाउराको जोहो गर्नुपरेको छैन। “खेतबारीबाट फर्क्यो कि दाउरा फुक्नुपर्थ्यो,” लक्ष्मी भन्छिन्, “अहिले त आनन्द भएको छ, ग्यास जलाउँछौं।”
उनले एलपी ग्यास सिलिन्डर पनि ल्याएकी छैनन्। “बजारबाट सिलिन्डर किन्नुपरेको छैन। चुल्होसम्मै पाइप जोडिएको छ, खोल्यो कि बलिहाल्छ,” लक्ष्मी मुस्कुराउँदै भन्छिन्।
पाइपलाइनबाट चुल्होमै आउने ग्यासबाट खाना पकाउन सजिलो भएको उनी सुनाउँछिन्। “सिलिन्डर देख्दा पड्किन्छ कि भन्ने डर लाग्थ्याे, ग्यासमा त डर पनि नहुने रहेछ,” उनी थप्छिन्, “यो त धाराको टुटी खोले जस्तै हुँदो रहेछ।”
लक्ष्मीकी छिमेकी सुशीला चौधरीको घरमा पनि एक महीनायता पाइपलाइनबाट ग्यास पुगेको छ। त्यही ग्यासमा खाना पकाइरहेकी सुशीला सुनाउँछिन्, “पाइपलाइनबाट ग्यास आएपछि त सजिलो भएको छ, दाउरा खोज्नुपरेको पनि छैन।”
एक महीनायता उनीहरू जस्तै घोराहीका दुई वटा वडाका ३२ परिवारले पाइपलाइनबाट ग्यासमा खाना पकाइरहेका छन्। उपमहानगरले वैकल्पिक ऊर्जा र नेपाल उर्जा विकास कम्पनीसँग सहकार्य गरेर घर घरमा ग्यासको पाइपलाइन पुर्याएको हो।
उपमहानगरले भारतबाट किनेर ल्याएको ग्यास स्थानीय बासिन्दालाई वितरण गरेको पनि होइन। “उपमहानगर क्षेत्रभित्रबाट सङ्कलन भएको फोहोरबाटै बायोग्यास उत्पादन गरेका छौं, त्यही ग्यास पाइपबाट चुल्होसम्म पुर्याएका हौं,” मेयर नरुलाल चौधरी भन्छन्।
उपमहानगर क्षेत्रबाट सङ्कलित फोहोरलाई प्रयोग गर्दै बायोग्यास उत्पादन गरिएको हो। यससँगै प्राङ्गारिक मल पनि उत्पादन गर्न थालिएको छ। यसका लागि २०७५ मंसीर ५ गतेबाट काम शुरू गरिएको थियो।
निर्माण शुरू भएको पाँच वर्षपछि घर घरमा पाइपलाइनबाट ग्यास वितरण गरिएको छ। घोराही उपमहानगरका वडा नं. १० र १६ का करीब एक हजार ५०० घरधुरीमा पाइपलाइनबाट ग्यास पुर्याउने लक्ष्य लिएको कम्पनीका कार्यक्रम अधिकृत शारदा शर्मा जनाउँछिन्। अहिले परीक्षणकालका लागि ३२ घरधुरीलाई ग्यास वितरण गरिएको शर्माको भनाइ छ।
ग्यासको मापन गर्ने मिटरबक्स नआएकाले अहिलेसम्म जडान भएका ३२ घरधुरीले निःशुल्क ग्यास बालिरहेका छन्। मिटरबक्स जडानपछि सहुलियत रकममा वितरण गरिने उनले बताउँछिन्। “अहिले ३२ घरधुरीले बालिरहेका छन्, केही दिनभित्रै ७५० घरमा ग्यास वितरण गर्छाैं,” शर्मा भन्छिन्।
अहिले कम्पनीले चाहे जति फोहोर पाएको छैन। ग्यास प्लान्ट पूर्ण रूपमा सञ्चालन आउँदा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन गर्न सकिने उनी बताउँछिन्। त्यसका लागि दैनिक ३०० क्विन्टल फोहोर आवश्यक पर्ने जनाइएको छ। “घोराहीमा फोहोर अपुग भएपछि लमही लगायत विभिन्न ठाउँबाट ल्याइरहेका छौं,” शर्मा भन्छिन्।
घोराही-१६, गरुवामा करीब तीन बिघा क्षेत्रमा रहेको उद्योग निर्माणका लागि २२ करोड लगानी भएको छ। शुरूमा २० करोड लाग्ने अनुमान गरिए पनि सबै संरचना बनाउदा २२ करोड पुगेको शर्मा जनाउँछिन्।
ग्याससँगै मल उत्पादन
फोहोरबाट ग्याससँगै मल पनि उत्पादन भइरहेको छ। फोहोरबाट ग्यास र मल उत्पादन शुरू गरेदेखि घोराही उपमहानगरमा फोहोर व्यवस्थापन पनि सहज भएको मेयर नरुलाल चौधरी बताउँछन्। “एकातिर फोहोर व्यवस्थापन गर्न सजिलो भएको छ भने अर्कातिर उपभोक्ताले घर घरमै पाइपलाइनबाट ग्यास पाउँदा खर्च र समय बचत भएको छ,” उनी भन्छन्।
अहिले उपमहानगरले घोराहीलाई फोहोरशून्य बनाउने अभियान चलाएको छ। यसका लागि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर सङ्कलन गरिंदै आएको छ। उनका अनुसार गल्ने फोहोरलाई मात्र ग्यास उत्पादनमा प्रयोग गरिएको छ। गल्ने फोहोर किनेर उपमहानगरले कम्पनीलाई बिक्री गर्ने योजना समेत बनाएको मेयर चौधरी बताउँछन्।
फोहोरबाट ग्यास उत्पादन गर्न घोराही उपमहानगर र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ। त्यसपछि उपमहानगरलाई हस्तान्तरण गरिनेछ। त्यति वेलासम्म कम्पनीले ग्यास र मलबाट भएको नाफाको पाँच प्रतिशत रकम उपमहानगरलाई उपलब्ध गराउनेछ।