नेपालमा प्लास्टिक प्रशोधन परियोजना चलाउँदै क्याम्ब्रिज विश्वविद्यालय
यस परियोजनाको उद्देश्य प्लास्टिकजन्य वस्तु पुनरुत्पादन व्यवसाय शुरू गर्नु हो।
प्लास्टिकलाई प्रशोधन गरी दीर्घकालीन उपयोगमा आउने वस्तु बनाउने लक्ष्य सहित बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले नेपालमा ‘पुनःप्रशोधन साना परियोजना कार्यक्रम’ चलाइरहेको छ। परियोजनाले स्थानीय रूपमा सङ्कलित प्लास्टिक प्रशोधन गरेर स्थानीय क्षेत्रकै घरधुरीमा प्रयोग गर्न सकिने वस्तु उत्पादन गर्ने लक्ष्य राखेको छ।
“प्लास्टिकको समस्या जहींतहीं छ, तर समाधानको उपाय छैन,” क्याम्ब्रिज विश्वविद्यालयको सेन्टर फर इन्डस्ट्रियल सस्टेनिबिलिटीकी लिड रिसर्चर क्युरी पार्कले भनिन्, “समाधानको उपायका लागि उच्च प्रविधियुक्त ठूलो प्रशोधन केन्द्र नै हुनुपर्छ भन्ने छैन। बरु त्यस्ता प्रशोधन केन्द्र वा उपकरण हुनुपर्छ जुन चलाउन पनि सजिलो होओस् र मर्मतसम्भार गर्न पनि सजिलो होओस्।”
नेपालमा सडक सञ्जालको असहजताका कारण प्लास्टिकजन्य प्रदूषणलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान गाह्रो हुने अवस्थामा साना आकारका प्लास्टिक प्रशोधन एकाइ स्थानीय स्तरमै स्थापना गर्न सके कुनै सामग्रीकाे उत्पादन गर्न सकिने, उत्पादन सस्तो पर्ने र स्थानीय व्यवसाय फस्टाउने पार्क बताउँछिन्।
“यस परियोजनाको उद्देश्य प्लास्टिकजन्य वस्तु पुनरुत्पादन गर्ने व्यवसाय शुरू गर्नु हो। व्यवसायको सिद्धान्त हो- स्थानीयका लागि स्थानीयले स्थानीय स्तरमै बनाउने उत्पादन,” पार्कले भनिन्।
सन् २०२२ को डिसेम्बरदेखि नेपालमा परियोजनाको काम शुरू भए पनि प्रशोधन र उत्पादन गर्ने स्थानीय एकाइ स्थापना गर्न अझै केही समय लाग्ने उनको भनाइ छ। ती एकाइमा स्थानीय स्वामित्व होस् भन्ने आफूहरूले चाहेको पनि उनले बताइन्।
“आयोजनाको काम अघि बढाउन हामी नेपालका पूर्वदेखि पश्चिमका विभिन्न ठाउँमा गयौं,” उनले भनिन्, “सिन्धुपाल्चोक, कास्की, रसुवा, धादिङ र डोटीका स्थानीय पालिकाका पदाधिकारीहरूलाई भेट्यौं।”
त्यस क्रममा पालिकाहरू पनि प्लास्टिकको समस्या समाधान गर्न इच्छुक देखिएको उनी बताउँछिन्। परियोजनाले मोफसलका युवालाई पनि अवसर दिने पार्क बताउँछिन्। परियोजनाले स्थानीय साझेदारका रुपमा ललितपुरमा रहेको इम्प्याक्ट हबसँग सहकार्य गरेको छ । जहाँ रहेको प्रयोगशालामा परियोजनाका प्रशिक्षार्थीहरुले तालीम तथा अभिमुखीकरण हासिल गरेका छन् ।
संयुक्त अधिराज्य सरकारको ‘सस्टेनेबल म्यानुफ्याक्चरिङ एन्ड इन्भाइरोमेन्टल पोल्युशन’ अन्तर्गत सञ्चालित परियोजनाले प्लास्टिक प्रदूषणको क्षेत्रमा सहारा क्षेत्रका अफ्रिकी मुलुक र दक्षिणएशियाली मुलुकमा काम गर्ने लक्ष्य राखेको छ। एशियामा बाङ्लादेश, पाकिस्तान र नेपालमा परियोजना सञ्चालन गर्ने तय भएको छ, जस अनुसार नेपालमा भने हाल काम अघि बढेको हो।
नेपालमा दैनिक ६०० टन प्लास्टिकजन्य फोहोर निस्कने परियोजनाको अनुमान छ। त्यसमध्ये १३ प्रतिशत प्लास्टिकलाई पुनःप्रयोग गरेर टिकाउ र किफायती घरायसी सामग्री उत्पादन गर्ने लक्ष्य परियोजनाले राखेको छ।