कोशी सरकार गठन असंवैधानिक भन्दै एमाले सर्वोच्चमा
कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा (एमाले) सर्वोच्च अदालत पुगेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख सहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। त्यस आधारमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नै मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।
कोशी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी रिट लिएर सर्वोच्च पुगेका हुन्। भण्डारीले हिमालखबरसँग भने, “हामीले सर्वोच्चमा रिट दिएका छौं। दर्ताको प्रक्रियामा छ।”
सभामुखलाई समेत जोडेर सरकार गठन गरिएकाले असंवैधानिक भएको एमालेको जिकिर छ। रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको कोशी प्रदेश सरकार असंवैधानिक भएकाले बदर गर्न माग गरिएको छ।
यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश माग गरेको भण्डारीले बताए। यो उपधारामा अल्पमतको सरकार गठनको व्यवस्था छ। दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन नसकेमा यो उपधारा अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको सरकार गठन हुने व्यवस्था छ।
कोशी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो। एमालेका ४० सांसद छन्।