प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभाको बैठक लगातार अवरुद्ध
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका हुन्। राष्ट्रिय सभाको बैठक लगातार तीन दिनदेखि अवरुद्ध भइरहेको छ।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति विवादित बनेको थियो। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
यसलाई लिएर एमाले तथा अन्य विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन्। उनीहरूले प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध पारेका थिए।
शुक्रबार पनि राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै एमाले सांसदले उठेर विरोध जनाए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए।
सांसद घिमिरले जनताको स्वाभिमानमाथि आँच आउने गरी अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्याइन्। घिमिरले भनिन्, “प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म आजको कार्यसूची अगाडि नबढाइयोस्।”
अध्यक्ष तिमिल्सिनाले एमाले सांसदलाई आफ्नो आसनमा बस्न पटक पटक आग्रह गरे। तर, एमाले सांसदले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गतेसम्मका लागि बैठक स्थगन भएको घोषणा गरे।