वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने
यस वर्ष वर्षामा पानी निरन्तर पठाउने योजना बनाए पनि लेदो सहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी अब वर्षा कम भएपछि मात्र ल्याइने भएको छ। मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदो सहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ।
नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। “आयोजनाले काठमाडौं उपत्यकामा पानी यति नै महीना बन्द गर्ने भनी निर्णय त गरेको छैन। तर, वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ,” उनले भने।
आयोजनाले यस वर्ष वर्षाभरि नै पानी बन्द नगर्ने योजना बनाएको थियो। तथापि लेदो सहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो।
आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउन सक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उनले बताए। “पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो,” पन्तले भने।
मेलम्चीको पानी विगतका वर्षमा पनि हिउँदमा काठमाडौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो। विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो। क्षति भएका संरचनाको पुनर्निर्माण बाँकी छ।