श्रीमतीको हत्या गरेपछि आत्महत्या
श्रीमान् पिताम्बर भने घरदेखि १०० मिटर टाढाको निबारोको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
इलाममा एक जनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। माइजोगमाई-२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए।
गएराति करिब १०:३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताए। राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी चौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरी चौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरे बताउँछन्। राधिका पीताम्बरकी जेठी श्रीमती भएको बताइएको छ।
श्रीमान् पीताम्बर भने घरदेखि १०० मिटर टाढाको निबारोको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।