बाढीले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेर बनाएको पुलमा क्षति
पुलमा क्षति पुग्दा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका केही वडाका स्थानीय प्रभावित भएका छन्।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई वटा पुलमा क्षति पुगेको छ। गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीमा ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति भएको फट्टेका बासिन्दा दशरथ दनुवारले जानकारी दिए।
“फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,” उनले भने। फट्टेको पुलमा क्षति पुग्दा मेलम्ची नगरपालिका- ७ र ८, हेलम्बु गाँउपालिका- २ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका- १ र २ का बासिन्दा प्रभावित भएका छन्।
इन्द्रावती नदीमा भने आज बेलिब्रिज उद्घाटन गरिंदै छ। -रासस