झूटो विवरणका आधारमा नागरिकता लिएको आरोपमा उपमेयरमाथि अनुसन्धान
झूटो विवरणका आधारमा नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।
उपमेयर यादवसँग भारतीय नागरिकता रहेको र उनले कीर्ते गरी नेपाली नागरिकता पनि लिएको भन्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा उजुरी परेको थियो। डाक्नेश्वरी नगरपालिका-४ का ३५ वर्षीय कृष्णकुमार यादवले उजुरी दिएका थिए।
आठ महीनासम्म जिल्ला प्रशासन कार्यालयले उजुरीमाथि सुनुवाइ नगरेपछि उनले राजविराज नगरपालिका-९ का ५७ वर्षीय परमेश्वर यादव मार्फत उच्च अदालत, जनकपुरमा रिट दायर गरेका थिए। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयलाई विपक्षी बनाएर दिएको रिटमा मुद्दा दर्ता गर्नका लागि आदेश माग गरिएको थियो।
उनको माग बमोजिम उच्च अदालतले आदेश दिएको हो। उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीले आदेश दिएका थिए।
उच्च अदालतको आदेशसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उपमेयर यादव प्रहरी कार्यालय पुगेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले पक्राउ पुर्जी जारी भएपछि उपमेयर आफैं प्रहरी कार्यालयमा हाजिर भएको बताए। “पक्राउ पुर्जी जारी भएसँगै हामी खोजतलासमा जुटेका थियौं, बुधबार दिउँसो उपमेयर मीराज्यू उपस्थित हुनुभएको छ,” कार्कीले भने।
उनका पति महेन्द्र यादव विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। उनी भने फरार रहेको र खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
उपमेयर यादव र उनका पति महेन्द्रको दुवै देशको मतदाता नामावलीमा नाम रहेको उजुरीमा दाबी गरिएको छ। दुवै जनाले झूटो विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोप लागेको छ।
उपमेयर मीरा राजनीतिमा आउनुअघि स्वास्थ्यकर्मी थिइन्। उनले भारतीय नागरिक महेन्द्रसँग बिहे गरेकी हुन्। यादवले भारतको पञ्चायत निर्वाचनमा मतदाता नामावलीमा नाम लेखाउन शपथपत्र लिएको र शपथपत्रको आधारमा उनी भारतीय नागरिक रहेको उजुरीमा दाबी गरिएको छ।