उद्धव थापा कोशीको मुख्यमन्त्री नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा दाबी पेश गरेका थिए।
प्रदेश सभामा कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै थापाले विश्वासको मतका लागि थप सांसदको समर्थन जुटाउन प्रयास गर्ने बताए। थापाले भने, “विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ।”
राप्रपाले समर्थन गरेमा सभामुखको निर्णायक मतले विश्वास प्राप्त गर्ने उनको भनाइ थियो। “राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं,” नवनियुक्त मुख्यमन्त्री थापाले भने।
कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचत भएका हुन्। सभामुख सहित गठबन्धनको बहुमत छ।