प्रधानमन्त्रीको सचिवालयको प्रस्टीकरण- दाहालको अभिव्यक्ति भावनात्मक
प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर विरोध भइरहेका वेला सचिवालयले प्रस्टीकरण दिएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति जारी गरी दाहालले भावनात्मक अभिव्यक्ति दिएको जनाएको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिंह दिल्लीस्थित आफ्नै घरमा पटक पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषय समेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो। तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बङ्ग्याएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दु:खद छ।’
असार १८ गते भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति विवादित बनेको छ। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
यही अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) लगायत विपक्षी दलहरू संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले भने दाहालको अभिव्यक्तिलाई अपव्याख्या गरिएको जनाएको छ। सचिवालयले भनेको छ, “काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ।”
विपक्षी दलहरूले संसद्मा प्रस्टीकरण दिने मौका समेत नदिएकोमा पनि प्रधानमन्त्रीको सचिवालयले असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही हुनुहुन्छ। संसद्मा प्रस्टीकरणको मौका समेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढङ्गले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण छ।”