पर्यटनमन्त्रीले फेरि मागे महानिर्देशक अधिकारीसँग स्पष्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग फेरि स्पष्टीकरण मागेको छ।
पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्दै स्पष्टीकरण मागेका हुन्।
यसअघि मन्त्री किरातीले गत असार ११ गते सात दिनको समय राखी स्पष्टीकरण मागेका थिए। त्यसको जवाफ नआएपछि तीन दिनको समय दिएर अधिकारीसँग दोस्रो स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।
पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट फेरि स्पष्टीकरण मागिएको हो। महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा नौ बुँदे प्रश्न सोधिएको थियो। अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए।
दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानून अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ।