प्रधानमन्त्रीको राजीनामा माग गरी राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै नेकपा (एमाले)का सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदलाई बोल्न समय दिएका थिए।
एमाले सांसदले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरे। भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री दाहालले राजीनामा नदिंदासम्म बैठकको कामकारबाही अगाडि नबढाउन उनीहरूले अध्यक्ष तिमिल्सिनालाई आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई बोलाएर आफ्ना कुरा राख्ने वातावरण मिलाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए।
एमाले सांसदलाई आफ्ना आसनमा बसेर सहयोग गर्न अध्यक्ष तिमिल्सिनाले पटक पटक आग्रह गरेका थिए। तर, एमाले सांसदले भने प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म विरोध जारी रहने बताए।
एमाले सांसदले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक असार २२ गतेसम्मका लागि स्थगन गरेका छन्। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो।
यसअघि बुधबारको बैठकमा पनि एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको थियो।