कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट उद्धव थापाले दाबी पेश गर्ने
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले कोशीको मुख्यमन्त्रीका लागि गठबन्धनबाट थापाले दाबी पेश गर्ने निर्णय गरेको हो। “गठबन्धनबाट कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय यसअघि नै गरेका थियौं। त्यसमा केही अलमल देखिएकाले आजको बैठकमा छलफल भएको छ,” बैठकका निर्णयबारे जानकारी दिंदै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले भने, “आज साँझ ५ बजेसम्म उद्धव थापाले दाबी पेश गर्ने निर्णय भएको छ। त्यसका लागि निर्देशन पनि दिएका छौं।”
गठबन्धनका नेताहरूले कोशी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई बोलाएर छलफल गरेका हुन्। उनीहरूसँग यस विषयमा छलफल गरी गठबन्धनका तर्फबाट थापालाई मुख्यमन्त्रीमा दाबी पेश निर्देशन दिएको पाण्डेले बताए।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। तोकिएको समयभित्रै गठबन्धनले दाबी पेश गर्ने भएको हो।
कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्। त्यस्तै, नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
गठबन्धनले राप्रपाको पनि साथ खोजिरहेको छ। अहिलेसम्म राप्रपाले कुनै निर्णय गरिसकेको छैन।