प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने गठबन्धनको निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुनपर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजीनामा दिनुनपर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले भने, “प्रतिपक्षी दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय गरेका छौं।”
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन्। विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध छ।
गठबन्धनको बैठकमा यस विषयमा छलफल भएको हो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको कुरा नै नसुनी विरोध जनाएको गठबन्धनको निचोड छ। “प्रधानमन्त्रीको विरुद्ध संसद्मा अवरोध गरेको छ। राजीनामा माग गरेको भन्ने आयो। यो असंसदीय निर्णय हो,” पाण्डेले भने, “प्रधानमन्त्रीले बोलेका विषयमा आपत्ति भयो भने आवाज उठाउन पाइन्छ। के बोलेको हो? सोध्नुपर्ने विषय हो। कुरै नसुनी राजीनामा माग गर्ने निर्णय गरेको छ। गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने बरु संसद् फेस गर्ने निर्णय गरेको छ।”