राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।
नतीजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। आज साँझसम्म नतीजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए।
परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उत्तरपुस्तिका परीक्षणको काम यसअघि नै सकिएको थियो। प्राविधिक काम पनि करीब सम्पन्न भइसकेको उनले बताए। नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायतका प्राविधिक कार्य चलिरहेको छ।
“आज साँझसम्म एसईईको नतीजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौं, प्राविधिक समस्या नआए आजै नतीजा सार्वजनिक हुन्छ,” परीक्षा नियन्त्रक श्रेष्ठले भने, “प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो, अन्यथा नतीजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौं।”
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धति अनुसार नतीजा प्रकाशन गर्ने निर्णय गरिसकेको छ। २०७२ सालको प्रणाली अनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ।
२०७२ सालको पद्धति अनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धति अनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ।
गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजी गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता थियो। परीक्षामा दुई लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फका १५ हजार ४६१ जना परीक्षार्थी समेत एसईईमा सहभागी थिए।
यसरी हेर्न सकिन्छ नतीजा:
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईई परीक्षाको नतीजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ।
फोनमा १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतीजा जान्न सकिने व्यवस्था गरेको छ। त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतीजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटबाट नतीजा हेर्न सकिने उनले बताए।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np बाट नतीजा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट नतीजा हेर्न सकिने व्यवस्था गरिएको छ। -रासस