ट्वीटरलाई उछिन्न मेटाको ‘थ्रेड’ सार्वजनिक, यस्ता छन् ‘फिचर’
मेटाले थ्रेडलाई इन्स्टाग्रामसँग सम्बन्धित गरिरहँदा केही सञ्चारमाध्यमले भने यसलाई ‘ट्वीटर किलर’ को संज्ञा दिएका छन्।
विश्वका दुई ठूला सामाजिक सञ्जाल फेसबूक र ट्वीटरका अधिपतिहरू क्रमशः मार्क जुकरबर्ग र एलन मस्क एकअर्का विरुद्ध कुस्ती खेल्न राजी भएको दुई साता लगत्तै अब उनीहरूको कम्पनी आपसमा भिड्ने भएका छन्। फेसबूकको ‘पेरेन्ट’ कम्पनी मेटाले ट्वीटरसँगै प्रतिस्पर्धा गर्न नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको छ।
मेटाका प्रमुख मार्क जुकरबर्ग थ्रेडले ट्वीटरलाई उछिन्ने उद्देश्य लिएको बताउँछन्। बीबीसीका अनुसार ट्वीटरमा पछिल्लो समय गरिएको परिवर्तनले बेखुश प्रयोगकर्ताहरूलाई थ्रेडले आकर्षित गर्न सक्ने विज्ञहरूले बताएका छन्। जुकरबर्गका अनुसार थ्रेड संवादका लागि खुला र मैत्रीपूर्ण सार्वजनिक थलो हो।
थ्रेड हाल विश्वका १०० भन्दा बढी देशमा उपलब्ध हुनेछ। तत्कालका लागि यूरोपियन युनियनमा थ्रेड उपलब्ध छैन।
थ्रेडमा ट्वीटरमा जस्तो थुप्रै समान र परिष्कृत सुविधा पनि छ। जस्तो- थ्रेडमा प्रयोगकर्ताले ५०० अक्षरसम्म पोस्ट गर्न सक्नेछन्। यस्तै, लिंक, तस्वीर र पाँच मिनेटसम्मको भिडिओ पनि पोस्ट गर्न सकिनेछ। थ्रेडका पोस्टहरू सहजै इन्स्टाग्राम स्टोरीमा वा अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा लिंकका रूपमा ‘शेयर’ गर्न सकिनेछ।
यसैगरी थ्रेडमा कसले ‘मेन्शन’ गर्न पाउने वा कसले ‘रिप्लाई’ गर्न पाउने भन्ने प्रयोगकर्ताले निर्णय गर्नेछन्। ‘अनफलो’, ‘ब्लक’, ‘रेस्ट्रिक्ट’ र ‘रिपोर्ट’ को सुविधा पनि थ्रेडले दिएको छ।
तर, थ्रेड प्रयोग गर्न सर्वप्रथम इन्स्टाग्राममा खाता हुन आवश्यक हुन्छ। थ्रेडमा प्रवेश गरिसकेपछि इन्स्टाग्रामकै फलोअर्ससँग अन्तरक्रिया गर्ने वा नगर्ने भन्ने सुविधा हुनेछ। यस्तै, इन्स्टाग्राममा ‘ब्लक’ गरिएको जुनसुकै खाता थ्रेडमा स्वतः ‘ब्लक’ हुनेछ।
मेटाले थ्रेडलाई इन्स्टाग्रामसँग सम्बन्धित गरिरहँदा केही सञ्चारमाध्यमले भने यसलाई ‘ट्वीटर किलर’ को संज्ञा दिएका छन्।
के थ्रेड ट्वीटरभन्दा ठूलो बन्न सक्छ त? जुकरबर्ग भन्छन्, “यसले समय लिन्छ। तर, मलाई लाग्छ कि एक अर्बभन्दा बढी मानिस भएको सार्वजनिक संवाद गर्ने एप हुनुपर्छ।”
उनले थपे, “ट्वीटरसँग यस्तो एप बन्ने अवसर थियो, तर सफल भइरहेको छैन। आशा गरौं- हामी सक्छौं।”