पाटेबाघको छाला र हड्डी सहित चार जना पक्राउ
बरामद छाला र हड्डी वयस्क पोथी बाघको हो। बरामद छालामा दुई ठाउँमा गोलीको लागेको प्वाल समेत फेला परेको छ।
बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डी सहित चार जना पक्राउ परेका छन्। प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११, हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम हड्डी सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनील चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय छन्।
डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो। छालाको लम्बाइ नौ फिट आठ इन्च छ। घाँटीपट्टिको भागमा दुई ठाउँमा गोली लागेको प्वाल फेला परेको छ।
हाल बरामद गरिएको हड्डी कति वटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ अनुसार पक्राउ परेका चारै जना दोषी पुष्टि भएमा उनीहरूलाई पाँचदेखि १५ वर्षसम्मको कैद वा रु.पाँच लाखदेखि रु.१० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुन सक्ने वन अधिकृत कर्णले बताए। डिभिजन वन कार्यालयले चारै जनाबारे थप अनुसन्धान गरिरहेको छ।