बाघभन्दा बढी सङ्कटमा जङ्गली कुकुर
संसारभर दुई हजार ५०० को हाराहारीमा रहेको जङ्गली कुकुर बाघभन्दा बढी सङ्कटमा परेको प्राणी हो।
कञ्चनजंघा क्षेत्रमा बस्तुभाउलाई जङ्गली जनावरले मार्ने गरेको स्थानीय बासिन्दाले बताउने गरेका थिए, तर केले बस्तुभाउ खायो थाहा थिएन। सन् २०१० मा गरिएको अध्ययनका क्रममा ‘क्यामेरा ट्र्यापिङ’ मा जङ्गली कुकुर देखियो। पछि जङ्गली कुकुरको दिसाको अध्ययन गर्दा त्यसमा २२ प्रतिशत बस्तुभाउको अंश देखियो।
अनुसन्धाता अम्बिकाप्रसाद खतिवडाको नेतृत्वमा गरिएको त्यो अध्ययन जङ्गली कुकुरबारे नेपालमा भएको पहिलो वैज्ञानिक अध्ययन थियो। जसले तीन हजार ८०० मिटरको उचाइमा जङ्गली कुकुर पाइएको पुष्टि पनि गरेको थियो। त्यही जङ्गली कुकुर अहिले सङ्कटमा परेको छ।
अहिले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार बाघको संख्या बढाउने काममा सफलता पाएको छ। बाघको संख्या बढ्दा शिकारका लागि जङ्गली कुकुरसँग प्रतिस्पर्धा हुन्छ। “शायद त्यसको असरले पनि होला, पर्सा क्षेत्रमा जङ्गली कुकुर बिस्तारै बाहिर आउन थालेका छन्,” खतिवडा भन्छन्, “यसबारे पनि विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ।”
जङ्गली कुकुरबारे केही अध्ययन चितवन, पर्सा क्षेत्रमा भएका छन्। स्मृति लामा, तृष्णा रायमाझी, सुजन खनाल लगायतले यस प्रजातिको अध्ययनलाई अघि बढाइरहेका छन्।
गोठालाले आफ्नो बस्तुभाउ खाइदिएको रिसको झोकमा विष हाल्ने गरेकाले पनि यसको संख्या घट्दै गएको छ। अझ जङ्गली कुकुरको संख्या थोरै तर छरिएर रहेकाले कुनै रोगव्याधिले सकिने हुन् कि भन्ने डर सधैं रहिरहेको अमेरिकाको कोर्नेल विश्वविद्यालयका भेटेरिनेरियन मार्टिन गिल्बर्ट बताउँछन्। नेपालमा पनि संरक्षण अनुसन्धान गरिरहेका गिल्बर्ट भन्छन्, “यो नेपाल-भारत सीमामा आउजाउ गरिरहने हुँदा पनि अन्तरदेशीय संरक्षण कार्यक्रम बनाएर अघि बढ्नुपर्ने देखिन्छ।”
विश्वमै प्रभावकारी संरक्षणको नमूना पेश गरेको नेपालमा केही प्राणी प्रजाति भने संरक्षण छाताबाट बाहिर परेका छन्। तीमध्ये जङ्गली कुकुर पनि एक हो। नेपालमा २०० भन्दा कमको संख्यामा रहेको जङ्गली कुकुर बचाउन संरक्षण कार्यक्रम शुरू गर्न ढिलाइ गर्न नहुने विज्ञहरू बताउँछन्।
बरु बाघ देख्न सजिलो होला, तर वन कुकुर हत्तपत्त देखिंदैन। त्यही भएर पनि धेरैले यसबारे थाहा पाएका छैनन्। विगतमा भन्दा यसको संख्या घट्दै गएको अध्ययनहरूले देखाएका छन्।
नेपालमा बाघ, हिउँ चितुवा वा हात्तीमा जति अध्ययन भएका छन्, त्यति जङ्गली कुकुरमा भएको छैन। जङ्गली कुकुर बाघभन्दा पनि बढी सङ्कटमा परिसकेको विज्ञहरू बताउँछन्। जङ्गली कुकुर सम्बन्धी काम गर्ने वैज्ञानिकहरूको भर्खरै दोस्रो मीटिङ भएको छ। यसअघि सन् २०१९ मा जङ्गली कुकुर सम्बन्धी काम गर्ने वैज्ञानिकहरूको पहिलो बैठक थाइल्यान्डमा भएको थियो।
चितवनको सौराहामा जेठ मध्यतिर भएको ‘ढोल वर्किङ ग्रूप’ को दोस्रो बैठकले जङ्गली कुकुर संरक्षणमा नयाँ गति दिने सङ्केत गरेको नेपालका तर्फबाट जङ्गली कुकुरमा अध्ययन गरेका तथा आईयूसीएन ढोल वर्किङ ग्रूप विशेषज्ञ समूहका सदस्य खतिवडा बताउँछन्। उनी भन्छन्, “जङ्गली कुुकुर सम्बन्धी अध्ययन अनुसन्धान गरेका विश्वभरका विज्ञहरू जम्मा भएर अबको संरक्षण योजना के हुन सक्छ भन्ने विषयमा विमर्श भएको छ।”
सौराहाको बैठकमा जङ्गली कुकुरको विषयमा अध्ययन गर्ने १४ देशका ४२ जना विज्ञ सहभागी थिए। जसमा आईयूसीएन ढोल वर्किङ ग्रूप विशेषज्ञ समूहका ११ जना सदस्य पनि थिए। “विश्व संरक्षण संघको सूचीमा जङ्गली कुकुर हाल सङ्कटापन्न प्रजातिको वर्गमा सूचीकृत छ। अहिलेको अद्यावधिक तथ्याङ्कले यो प्रजाति अति सङ्कटापन्न वा दुर्लभ के छ भन्ने यकीन गर्छ,” खतिवडा भन्छन्, “अति सङ्कटापन्न वा दुर्लभ प्रजातिहरूको संरक्षण कार्य द्रुत गतिमा अगाडि बढाउनुपर्ने हुन्छ, अन्यथा यस्ता प्रजाति लोप भएर जाने खतरा हुन्छ।”
यो पाइने देशमा संरक्षण कार्ययोजना बनाउनुपर्ने देखिएको छ। जङ्गली कुकुर संरक्षण कार्ययोजना (एक्सन प्लान) अहिलेसम्म कुनै पनि मुलुकले बनाएको छैन। नेपाल, भूटान, भारत, थाइल्यान्ड लगायत देशबाट काम शुरू गर्नेबारे छलफल भएको थियो। वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल जङ्गली कुकुर संरक्षण कार्ययोजना सहित अगाडि बढ्ने विषयमा सरकारको सहयोग रहने बताउँछन्।
विज्ञहरूका अनुसार जङ्गली कुकुरलाई चुनौती मुख्यतः मानवबाटै देखिन्छ। पहाडी वा हिमाली क्षेत्रमा यसलाई मार्न विष हाल्ने गरिएको छ। आफ्नो बस्तुभाउ मारेको प्रतिशोधमा मरेको सिनोमा विष हालेर मार्ने गरिएको पाइन्छ। यो समूहमा हिंड्ने हुँदा विष वा पासो थापेको अवस्थामा एउटालाई मात्र जोखिम नभएर पूरै समूह नै जोखिममा पर्छ।
तराई क्षेत्रमा संरक्षण क्षेत्रभित्रै पाइने हुँदा यसका कारण द्वन्द्व भएको देखिंदैन भने हिमाली संरक्षित क्षेत्रमा यसले चरणमा रहेका बस्तुभाउ खाने हुँदा प्रतिशोधका कारण जोगाउन गाह्रो छ। यो समस्या नेपालमा मात्र नभई भारत र भूटानका हिमाली क्षेत्रमा पनि भएको पाइएको छ। “अरू मुलुकमा चाहिं वासस्थान नाशिंदा, आहारा प्रजाति कम हुँदा जोगाउन गाह्रो छ। हाम्रोतिर भने मानवबाटै यसलाई जोगाउन गाह्रो छ,” खतिवडा भन्छन्।
अन्तर्राष्ट्रिय कानून बमोजिम यो साइटिसको अनुसूची २ र आईयूसीएनको सङ्कटापन्न वर्गमा पर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०४९ अन्तर्गत यसलाई मार्ने, घाइते बनाउने वा क्षति पुर्याउनेलाई संरक्षित वन्यजन्तु बाहेकलाई हुने कसूर अनुसार २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महीनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ।
तथापि, कानूनभन्दा पनि स्थानीय बासिन्दालाई यसको संरक्षणमा संलग्न गराउनुपर्ने विज्ञहरू बताउँछन्। गोठालाले आफ्नो बस्तुभाउ खाइदिएको रिसको झोकमा यसलाई विष हालिदिने गरेकाले बीमा कार्यक्रम लागू गर्न सकिने खतिवडा बताउँछन्। “अहिले बिमा गरेका पशुपन्छीलाई कुनै संरक्षित वन्यजन्तुले मारेमा केही क्षतिपूर्ति पाउने गरेका छन्, यसलाई संशोधन गरेर पूर्ण क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ,” उनी भन्छन्।
कहाँ पाइन्छ जङ्गली कुकुर?
जङ्गली कुकुर एशिया महादेशको रैथाने प्रजाति हो। विज्ञहरूका अनुसार परापूर्वकालमा एशिया, यूरोप र उत्तरी अमेरिकासम्म फैलिएको थियो। तर, विकासक्रममा यो एशियामा मात्र सीमित हुन पुग्यो। पहिलो पटक सन् १७९४ मा यात्री पेस्टेरेफले यसको उल्लेख गरेको पाइन्छ। उनले सुदूर पूर्वी रूसको यात्रा क्रममा जङ्गली कुकुर देखेको र यसलाई ‘प्याक हन्टर’ उल्लेख गरी सुनौलो स्यालसँग तुलना गरेका थिए।
जङ्गली कुकुर दक्षिण पूर्वी एशियाका नेपाल, भूटान, बाङ्लादेश, चीन, मलेशिया, म्यानमार, इन्डोनेशिया, लाओस, कम्बोडिया, थाइल्यान्ड गरी ११ वटा मुलुकमा पाइन्छ। जहाँ जहाँ यो पाइन्छ, त्यो देशमा एक ठाउँमा २५० भन्दा कमको समूहमै मात्र सीमित छ। विश्वभरि यसको संख्या दुई हजार ५०० भन्दा कम रहेको अनुमान छ।
हाल जङ्गली कुकुरको सबैभन्दा ठूलो संख्या भारतमा छ। चीन र भूटानमा पनि जङ्गली कुकुर उल्लेख्य संख्यामा पाइन्छ। समूहमा हुने हुँदा बाघ, चितुवाले समेत आक्रमण गर्दैनन्। यो दुर्लभ प्राणी मानिन्छ र देख्नै मुश्किल पर्छ। वन क्षेत्र आसपास बस्तीका बासिन्दाले भने यसलाई यदाकदा देखेको पाइन्छ।
यो जङ्गली कुकुर पाइने मुलुकमै पनि यसबारे धेरै जानकारी उपलब्ध छैन। त्यसकारण पहिला त यसबारे धेरैभन्दा धेरै जानकारी उपलब्ध हुने वातावरण बनाउनुपर्ने विज्ञहरू बताउँछन्।
नेपालमा जङ्गली कुकुर समुद्री सतहदेखि चार हजार ३५० मिटरसम्मको उचाइमा पाइएको अभिलेख छ। तराईमा चितवन, पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन्छ। उच्च पहाडी क्षेत्रमा कञ्चनजंघा संरक्षण क्षेत्र, मकालुवरुण, सगरमाथा, लाङटाङ, रारा, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पनि पाइएको छ। हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यकामा पनि पाइएको अभिलेख छ।
तराईको संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा पशुधनलाई संरक्षित प्राणीबाट क्षति पुग्दा क्षतिपूर्तिको पनि व्यवस्था छ। चितवन र पर्सामा जङ्गली कुकुरको संख्या राम्रो छ।
कस्तो हुन्छ जङ्गली कुकुर?
ठूलो गोलाकार कान, कालै थुतुनो हुने जङ्गली कुकुरको शरीरको रङ खैरो हुन्छ। यसको शरीर फुर्तिलो हुन्छ भने पुच्छर झुप्प परेको हुन्छ, पुच्छरको अन्तिम भाग कालो हुन्छ। छोटा खुट्टा भएको यो मजाले दौडन र पौडन सक्छ।
वैज्ञानिक नाम ‘क्युन अल्पाइनस’ र अंग्रेजी ‘ढोल’ वा ‘एशियन वाइल्ड डग’ भनेर चिनिने यसको उचाइ १७ इन्चसम्म हुन्छ भने लम्बाइ तीन फिटसम्म हुन्छ। सामान्यतया पानीको स्रोत नजिकको गुफा, चट्टानी कापमुनि बस्ने गर्छ। यसको आयु १५-१६ वर्षसम्म हुन्छ।
प्रायः पाँचदेखि १० वटाको समूहमा रहने जङ्गली कुकुर आफूभन्दा दश गुणा ठूला जनावरको पनि शिकार गर्न सक्छ। ब्वाँसाले जस्तो यिनले मानिसलाई भने आक्रमण गरेको पाइएको छैन। यी प्राणी शिकार गर्न माहिर हुन्छन्। आफ्नो सिकारलाई लखेटेर हमला गर्छन्।