कोशीमा राप्रपाले देला गठबन्धनलाई साथ?
कांग्रेस-माओवादी गठबन्धनलाई सघाउन राप्रपा लचिलो बन्दै गएपछि असार २१ मै संयुक्त सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने गठबन्धनका नेताहरूले बताएका छन्।
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारूढ र विपक्षी गठबन्धनमा आबद्ध दलहरूले छलफल तीव्र बनाएका छन्। यति वेला छलफल केन्द्र भने प्रदेश राजधानी विराटनगर नभई संघीय राजधानी काठमाडौं बनेको छ। छलफलका लागि गठबन्धनका प्रभावशाली नेताहरू काठमाडौंमा छन्।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न असार २१ गते बेलुका ५ बजेसम्मको समय दिएका छन्। समय घर्किंदै गर्दा दलहरूबीच छलफल तीव्र बनेको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) मिल्दा पनि बहुमत पुग्दैन। त्यसैले गठबन्धनका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सामेल गराउने प्रयासमा जुटेका छन्।
राप्रपाका नेताहरूसँगको संवादमा रहेका कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की छलफल सकारात्मक चलिरहेको बताउँछन्। उनी राप्रपा सहितको सरकार बन्नेमा ढुक्क छन्। “हामी भोलि (असार २१ मा) बहुमत सहित नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदको दाबी गर्छौं, यसमा ढुक्क हुनुभए हुन्छ,” कार्की भन्छन्।
कोशी प्रदेशमा गठबन्धनका दलसँग ४६ सांसद छन्। कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। त्यस्तै, एमालेका ४० र राप्रपाका ६ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
एकथरी नेताहरू माओवादीले समाभुखलाई राजीनामा गर्न लगाएर पनि बहुमत पुर्याउनुपर्ने तर्क गरिरहेका छन्। सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित हुन्। तर, माओवादी नेता गणेशप्रसाद उप्रेती सभामुखलाई फिर्ता बोलाउने वा राजीनामा गर्न लगाउने विषयमा सोच्न पनि नसकिने बताउँछन्। “तत्कालका लागि सभामुख पद हामीसँगै राख्छौं,” उप्रेती भन्छन्।
उनका अनुसार अहिलेको अधिकांश छलफल मुख्यमन्त्रीमा दाबी गर्न राप्रपालाई कसरी सामेल गराउने भन्नेमा केन्द्रित छन्। “मुख्यमन्त्रीका लागि सहमति खोज्न नै चार वटा अप्रेशन गरे बराबर भयो, अझ मन्त्रालय भागबन्डाको कुरा त धेरै टाढा छ, यसबारे छलफल भएकै छैन,” उप्रेती भन्छन्। उनी राप्रपा सहितको राजनीतिक सहमति बन्नेमा आशावादी छन्।
नयाँ सरकार गठनको विषयमा राप्रपा केही लचिलो भएको कांग्रेस र माओवादी नेताहरूले बताउँदै आएका छन्। एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएको राप्रपाले पनि नयाँ सरकारमा जाने सङ्केत गरेको छ।
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले अहिले चलिरहेको छलफलको प्रक्रियामा असन्तुष्टि जनाए। “गठबन्धनमा रहेका दलहरूले आफूहरू मात्रै सहमति गरेर हामीलाई सहयोग गर भन्दै आउनु अलि चित्तबुझ्दो प्रक्रिया भएन,” सिटौला भन्छन्।
उनी एमालेसँगको गठबन्धनका विषयमा भने अब समीक्षा गर्ने वेला आएको बताउँछन्। सिटौला भन्छन्, “राप्रपा सरकारमा जाने वा नजाने अहिलेसम्म टुङ्गो नलागे पनि एमालेलाई अहिलेसम्म दिएको साथबारे भने समीक्षा गरेर अगाडि बढ्नुपर्ने वेला आएको छ।”
कांग्रेस-माओवादी सहितको गठबन्धनलाई सघाएर सरकारमा जाने वा नजाने भन्ने विषयमा उनी केन्द्रीय नेताहरूसँग छलफलमा छन्। सिटौला पनि यति वेला काठमाडौंमै छन्। “छलफल गरिरहेका छौं, अझै टुङ्गो लागिसकेको छैन,” सिटौला भन्छन्।
राप्रपा सहितको सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले असार १५ गते प्रदेश सभामा विश्वासको मत गुमाएका थिए। उनको पक्षमा ४६ मत परेको थियो। जसमा एमालेका ४० जना र राप्रपाका ६ जना थिए।
त्यसको दुई दिनपछि असार १७ मा प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। उनले असार २१ गते बेलुका ५ बजेसम्मको समय दिएका छन्।