लाजेहाङकी आमा सोध्छिन्, ‘छोरा शहीद भएर के भयो त?’
कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा मारिएका पदम लिम्बू (लाजेहाङ)को घरमा अहिले गहिरो उदासी छाएको छ। जीवनको उत्तरार्धमा रहेकी आमाले सहारा गुमाएकी छन् भने छोराले अघि बढ्ने आड।
उनीसँग कुरा गर्न निकै गाह्रो भयो। दुई घन्टाको कुराकानीमा डेढ घन्टा त रोएरै बिताइन् उनले।
नरोऊन् पनि किन? ७० वर्षको उमेरमा ४३ वर्षे एक्लो छोरो गुमाएकी छन्। भन्न त सबैले ‘शहीदकी आमा’ भन्छन्। उनी चाहिं त्यो भनेको के हो नै बुझ्दिनन्।
“शहीद भन्छन्, तर यो बुझ्दिनँ नानी, शहीद भएर के भयो त?” आँसुले डम्म भएका आँखा पुछ्दै भनिन्, “जाने त गइहाल्यो। गएको मान्छे अब आउँदैन, छोरा त गयो गयो।”
चार महीनाअघि चैत ५ गते कोशी प्रदेश नामकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनका क्रममा मोरङ बेलबारी-२ लालभित्तीका पदम लिम्बू (लाजेहाङ) घाइते भए। टाउकोमा चोट लागेका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। उपचारकै क्रममा पाँच दिनपछि १० गते लाजेहाङको ज्यान गयो।
तिनै लाजेहाङकी आमा हुन् उनी अर्थात् धनमाया लिम्बू।
एक साताअघि फोटो पत्रकार गोपेन राई र म उनको घरमा पुगेका थियौं। घर भन्नु ऐलानी जग्गामा बनेको तीन कोठाको पिलर विनाको सिमेन्ट र बाँसको संरचना। मध्याह्न १२ बजेतिर पुग्दा आँगनभरि छिमेकी र इष्टमित्र थिए। धनमाया भने ढोकाकै छेउमा पल्टिरहेकी थिइन्। घरी पेट, घरी टाउको सुमसुम्याइरहेकी उनका आँखा ओभानो हुन मानेकै थिएनन्। ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर राखिएको छोराको तस्वीरमा एकटकले आँखा गाडेर बसेकी उनीसँग कुराकानी शुरू गर्न पनि सकस नै भयो।
रुँदै, हत्केलाले आँसु पुछ्दै, अवरुद्ध गला सफा गर्दै उनले छोरा गुमाउनुको पीडा पोख्ने प्रयास गरिन्। “नाम कमाएर गयो भन्छन्, तर मलाई कत्ति पनि चित्त बुझ्दैन। नाम कमाए पनि जे गरे पनि अब मेरो छोरा आउँदैन,” उनी भक्कानिइन्।
एउटा शहीदको जन्मसँगै एउटी आमाका आशाको टुकी निभेको छ। धेरै ठूला सपना थिएनन् उनका। दुःखले हुर्काएको छोराले बुढेसकालमा सहारा दिन्छ भन्ने आश मात्रै थियो। त्यो पनि सकियो। “बाँचेका त आउँछन् भनेर बाटो हेरेर पर्खेर बस्न सकिन्छ। तर, मरिसकेको छोरा, जता हेरे पनि, जसले आएर राम्रो भने पनि नआउँदो रहेछ,” उनी निराशा पोख्छिन्।
उनीसँग फगत पीडा छ, र छ आफू बाँचेको जिन्दगीको सम्झना। गरेको संघर्ष। भोगेको भुक्तमान। पूरा नभएका अधुरा सपना।
४३ वर्षअघि २०३७ सालमा पहिलो सन्तानका रूपमा उनले पदमलाई जन्माएकी थिइन्। तेह्रथुम मेयङलुङ नगरपालिका-९ का छत्रबहादुर लिम्बूसँग विवाह भएको थियो उनको। पदम जन्मेको दुई वर्षपछि २०३९ सालमा उनीहरू धरान झरेका थिए। तर, धरान आएको वर्षदिन नहुँदै धनमाया र छत्रबहादुरको मन मिलेन। उनीहरू अलग बस्न थाले। त्यसपछि एक्लो छोरा पदमलाई हुर्काउने, पढाउने सबै जिम्मेवारी धनमायाको काँधमा आइपर्यो।
“सिलाइबुनाइको काम, पोते, सलहरू बनाउने काम गरेर पालेकी थिएँ,” तीन दशकअघिका दिन सम्झिँदै बोलिन्, “एक्ली आमा भएर छोराछोरी हुर्काउन जति गाह्रो कसैलाई हुँदैन। मैले सक्ने जति दुःख गरेर हुर्काएँ।”
अर्को विवाह गरेर काठमाडौंमा नयाँ घरजम गरे पनि धनमायाका श्रीमान् उनलाई भेट्न बारम्बार पुग्थे। तिनै वर्षहरूमा थप दुई छोरी पनि जन्मिए- पवित्रा र सवित्रा। छोरीहरू जन्मेपछि भने छत्रबहादुर फर्केर आएनन्। धरान मिलनचोकमा एउटा कोठा भाडामा लिएर बसेकी धनमायाले तीन छोराछोरी हुर्काउन के मात्रै गरिनन्? विराटचोकका पसलहरूमा सामान मिलाउनेदेखि सरसफाइसम्मका काम गरेको सम्झिन्छिन्।
“घरमा साना छोराछोरी भएपछि सबै काम गरिंदो रहेछ। फेरि निरोगी पनि थिएँ। आँट पनि आउँथ्यो, त्यो वेला छोराछोरी हुर्काएर, पढाएर पनि केही पैसा बचाएकी थिएँ,” सुनाइन्।
त्यसरी बचाएको पाँच हजार रुपैयाँले बेलबारी-२ लालभित्तीमा २०४६ सालमा ऐलानी जग्गामा रहेको घर किनिन्। तीन सन्तान लिएर त्यहीं बस्न थालिन्। पदम, पवित्रा र सावित्राले मोरङको सुन्दरहरैचा-१० कै सुकुना माध्यमिक विद्यालयमै कक्षा १० सम्मको अध्ययन गरे।
छोरीहरूले पढाइमा मात्रै ध्यान दिने गरेको भए पनि पदम भने बाल्यकालदेखि नै नाचगान, खेलकूद लगायत अतिरिक्त क्रियाकलापमा सक्रिय हुने गरेको सम्झिन्छिन् धनमाया। “पहिल्यैदेखि अनेक कार्यक्रम भनेर हिंड्थ्यो। म कति भन्थें, मान्दैनथ्यो,” धनमायाले सुनाइन्, “गाउँमा पनि केही भए सधैं अघि बढ्थ्यो। स्कूलमा पनि सबैलाई सिकाउँथ्यो रे।”
एसएलसीपछि पदम सुन्दरहरैंचाकै सुकुना बहुमुखी क्याम्पसमा भर्ना भए। जेठी छोरी पवित्रा उच्च शिक्षा नसक्दै वैदेशिक रोजगारीमा गइन्। कान्छी सवित्राको धरानमा विवाह भयो। २०५८ सालमा पदमको पनि विवाह भयो, दिलकुमारी चेम्जोङसँग। घरमा आफू र छोराबुहारी भएका दिनहरू धनमायाका लागि स्वर्णिम स्मृति हुन्।
त्यो समय भने देश तीव्र संक्रमणमा थियो। एकातिर राजनीतिक संक्रमण तीव्र थियो, अर्कातिर प्रविधि पनि भित्रिइरहेको थियो। सूचना प्रविधिले गति लिंदै थियो। परिणाम, मानिसले आफ्नो प्रतिभा अभिव्यक्त गर्ने मञ्चहरू पाएका थिए। पदमले पनि गीत-सङ्गीतलाई नै जीवनको पाटो बनाए।
हाल उर्लाबारी बस्ने पदमका साथी हरिराज खिम्दिङ लिम्बू पदमले गीत लेख्ने, सङ्गीत भर्ने र म्युजिक भिडिओ बनाउन थालेको बताए। लिम्बूका अनुसार ‘नुमा-नुमा’ बोलको लिम्बू भाषाको पहिलो र्याप गीत पदमकै थियो। त्यसपछि पनि डकुमेन्ट्री लेखनमा लागेका पदमले किराँतको पौराणिक कथाबारे लुङनाङफुम, फौजदारी जस्ता डकुमेन्ट्रीको स्क्रिप्ट लेखेका थिए।
पछिल्लो समय उनले गायक दीपक लिम्बूको गीतमा पनि अभिनय गरेको हरिराज बताउँछन्। उनका अनुसार कला क्षेत्रमा काम गर्दागर्दै किरात इतिहासको अध्ययन र पहिचानको खोजीमा पदमको रुचि बढेको थियो।
२०६२/६३ सालको परिवर्तनपछि पहिचानको मुद्दा नेपाली राजनीतिमा जबर्जस्त रूपमा स्थापित भयो। देशैभरि पहिचानवादी मुद्दा बोकेका राजनीतिक दलहरू स्थापना हुन थाले। २००७ सालदेखि नै पहिचानको मुद्दा बोकिरहेको किरात समुदायमा पहिचान राजनीतिको प्रभाव नपर्ने कुरै भएन। जातीय पहिचानका निम्ति विभिन्न संगठन खुल्न थाले। तीमध्ये एक थियो, कुमार लिङ्देन नेतृत्वको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च।’
हरिराजका अनुसार २०६३ सालमा पदमले मञ्चको युवा संगठन ‘लिम्बुवान स्वंयसेवक’ को सदस्य भएर पहिलो पटक पार्टीको सदस्यता लिए। यो उनको जीवनको राजनीतिक मोड थियो। त्यही वर्ष उनी लिम्बुवान स्वयंसेवकको इन्चार्ज पनि भए। २०६६ सालपछि उनी पार्टीका जिल्ला कमान्डर भए। त्यसपछि संघीय लिम्बुवान मञ्च, लिम्बुवान स्वयंसेवकका सहकमान्डर तथा अनुशासन विभाग प्रमुख भए। उनले २०७४ सालको चुनावमा मोरङ १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए।
पूर्ण रूपमा राजनीतिमा आउने सोचका साथ पदमले सम्पूर्ण समय पार्टीलाई दिने गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लिङ्देन बताउँछन्। “आन्दोलनको सबै जिम्मेवारीहरू सम्हाल्ने र हिंसाबाट टाढै रहनुपर्छ भनेर सबैलाई सम्झाउने व्यक्ति थिए,” लिङ्देन भन्छन्।
छोराको राजनीतिक सक्रियताबारे आफूलाई भने केही थाहा नभएको धनमाया बताउँछिन्। गत फागुन १७ मा कोशी प्रदेशको नामकरण भएसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आन्दोलनमा उत्रियो। त्यही आन्दोलनमा पदम शहीद हुन पुगे।
छोराको ज्यान जानुभन्दा नौ दिनअघि मात्र घर बनाउने सल्लाह भएको सम्झिन्छिन् धनमाया। “अब चाँडै घर बनाउने हो आमा, अलि दह्रो बनाउने हो भनेको थियो,” उनीले सुनाइन्।
पाँच वर्षअघि पदमको सम्बन्धविच्छेद भएपछि नाति विश्वहाङ (१८), छोरा र आफू तीन जना मात्रै बस्ने गरेको उनले बताइन्। “छोराले घर बनाउने कुरा गरेपछि धेरै खुशी लागेको थियो, एउटा गतिलो घर भए नाति र बज्यै मात्र पनि बस्थ्यौं भनेथें,” गला अवरुद्ध पार्दै उनी बोलिन्, “तर, आफू जानुपर्ने उमेरमा छोरा गयो।”
छोरो गुमाएको तीन महीना भइसक्यो, तर धनमाया अझै सम्हालिन सकेकी छैनन्। जेठी छोरी पवित्राका अनुसार धनमाया आफैं रोगी छिन्। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकी छन्। उनको कलेजोमा पनि समस्या देखिएको पवित्राले बताइन्।
आठ महीनाअघि टाउकोमा पानी जमेपछि एक महीना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर अपरेशन गरिएको थियो। हरेक महीना उपचार गराउन अस्पताल जानुपर्ने भए पनि पछिल्लो समय त्यो तालिका नै बिग्रिएको पवित्राले बताइन्। “आमा र भदा मात्र छन् अहिले। आमा पनि अस्पताल जाने मन गर्नुहुन्न,” उनले भनिन्, “पैसाको पनि अभाव हो। म पनि कमाउँदिनँ। घरमा कमाउने कोही नहुँदा अप्ठ्यारो छ।”
त्यसो त पवित्रा आफैं पनि अहिले द्विविधामा परेकी छन्। आमाको उपचार कसरी गराउने? बर्खामा चुहिने घरलाई कसरी मर्मत गर्ने? १२ कक्षाको परीक्षा दिएर बसेका भदा विश्वहाङलाई अब कहाँ, कसरी पढाउने? घरको दैनिक खर्च कसरी थेग्ने? समस्याका चाङ छन्।
“सरकारले दाजुको नाममा १० लाख दिने भनेको छ रे, तर त्यो हामीलाई थाहा छैन,” पवित्राले दुखेसो पोखिन्, “राजनीतिमा त अरू पनि लागेका छन्, तर हाम्रै दाजुको ज्यान गयो।”
खासमा अव्यक्त सन्नाटा छाएको छ, पदमको घरमा। उनकी आमा जीवनको उत्तरार्धमा फेरि एक पटक शोकमा परेकी छन्। पहिलो पटक श्रीमान्ले छोड्दाभन्दा बढी शोक यसपालि छ। “यी सारा दुःखपीडा आफैं मरेपछि मात्र बिसाउन पाउँछु होला,” यति बोलेर भक्कानिइन्।
पदमका छोरा विश्वहाङको आवाज खोसिएको छ। जीवनमा सोच्दै नसोचेको घटना भइदिएको छ। जे सोध्दा पनि उनले दिने जवाफ एउटै छ, “खोइ मलाई केही थाहा छैन।” उनलाई आफ्ना बुबाको राजनीति, योगदान, आफ्नै भविष्य केही पनि थाहा छैन।
पदमकी बहिनी किंकर्तव्यविमूढ छिन्। परिवारको धुरीखाँबो नै ढलेपछि गर्ने के? कसरी थाम्ने? कसरी सम्हाल्ने? अन्योलमा छिन् उनी।
चौबाटोमा अलपत्र परे सरह भएको यो परिवारलाई हिंड्ने वेलामा सोधें, “त्यो घटनापछि यो घरबाट कोही आन्दोलनमा जानुभएको छ त?”
जवाफमा पवित्राले भनिन्, “हामीलाई राजनीति, आन्दोलन भनेको थाहा छैन। फेरि दाजु बितेपछि त्यस्तो आन्दोलनमा जाने सोच पनि छैन। अहिले घरमा त्यो वातावरण पनि छैन।”
आमा धनमाया भने केही बेर मौन रहिन्। उदास आँखाले छोराको तस्वीर हेरिन् र भनिन्, “के जाने? कसरी जाने आन्दोलनमा? भएको एउटा छोरा गइहाल्यो। अरूले हौसला त दिन्छन्। हौसलाले छोरा फर्किंदो रहेनछ।”
कोशी विवादबारे हिमालखबरका स्थलगत सामग्री: