संसद्मा प्रधानमन्त्री दाहालको राजीनामा माग
संघीय संसद्मा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्।
विपक्षी दलले संघीय संसद्का दुवै सदनमा प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन्। प्रधानमन्त्री नियुक्ति सम्बन्धी दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरिएको हो।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन्। प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै नेकपा (एमाले)का सांसदले विरोध जनाएका थिए।
एमाले सांसदले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तलाई बोल्ने समय दिएका थिए। बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताए।
“हामीले प्रधानमन्त्री बनाएका थियौं, प्रस्ताव गरेका थियौं। विश्वासको मत लिने वेला अरू दलको लिनुभयो, ठीकै थियो,” पन्तले प्रश्न गरे, “नेपालको प्रधानमन्त्री बन्न नेपाली जनतातिर जाने हो कि दिल्ली जाने हो?”
एमाले सांसद पन्तले नैतिकताका आधारमा प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने तर्क गरे। “नैतिकताका आधारमा उहाँले पदमा बस्न उपयुक्त हुँदैन, राजीनामा गर्नुहोस्,” पन्तले भने, “प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अगाडि बढ्न सक्दैन।”
एमालेका सांसदले विरोध जारी राखेपछि सभामुख घिमिरले आधा घन्टाका लागि बैठक स्थगन गरेका छन्।
यसअघि राष्ट्रिय सभामा पनि एमालेका सांसदले प्रधानमन्त्री दाहालको राजीनामा मागेका थिए। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक पनि स्थगन भएको थियो।