माओवादीले जितेन भने देश बर्बाद हुन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले नजितेमा देश बर्बाद हुने जिकिर गरेका छन्।
बुधबार क्रान्तिकारी स्ववियु काउन्सिल, नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशका लागि माओवादी बलियो हुन आवश्यक भएको बताए। सबै माओवादी मिलेमा २०६४ सालको भन्दा बलियो भइने उनको भनाइ थियो। “आँट गरौं, हामी जित्छौं,” दाहालले भने, “हामीले जितेनौं भने देश बर्बाद हुन्छ।”
यसका लागि सबैले पार्टी र नेतृत्वमा विश्वास गर्नुपर्ने उनको जिकिर थियो। “नेतृत्व रातारात जन्माएर जन्मिने कुरा होइन। यो इतिहासले जन्माउने कुरा हो। म हुन्छु भनेर रहरले हुने कुरा पनि होइन। त्यो इतिहास र जनताले, हजारौं योद्धाको सामूहिक विवेकले जन्मिने हो नेता,” यसअघि माओवादी छोडेर गएका नेताहरूप्रति इङ्गित गर्दै दाहालले भने, “साथीहरूले त बल गर्नुभयो नि, धेरै बल गर्नुभयो। प्रचण्ड सिद्धियो, हामी प्रचण्ड हुने हो भनेर सबै बल गुर्नभयो, तर भएन।”
केही माओवादी नेतालाई आफू बूढो भए जस्तो लागेको तर आफू बूढो नभएको उनको भनाइ थियो। “केही साथीहरूलाई लाग्यो- प्रचण्ड बूढो भयो, यसले अब केही नयाँ गर्न सक्दैन,” दाहालले भने, “प्रचण्ड व्यक्ति होइन, प्रवृत्ति हो, विचार हो, आन्दोलन हो। अहिले पनि लडाइँको नेतृत्व गर्ने हिम्मत प्रचण्ड प्रवृत्तिभित्रै छ, यो कुरालाई दह्रोसँग आत्मसात् गर्नु जरुरी छ।”
त्यसका लागि सबैले पार्टी र नेतृत्वमाथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो। उनले युवा तथा विद्यार्थीलाई पार्टीसँगै नेतृत्व बलियो बनाउनतर्फ लाग्न पनि आग्रह गरे।