बार्सिलोनाका पूर्व खेलाडीहरू भित्र्याउँदै इन्टर मियामी, इनिएस्टा पनि अनुबन्ध हुन सक्ने
विश्वप्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी भित्र्याएको अमेरिकी क्लब इन्टर मियामी अब बार्सिलोनाका दिग्गज पूर्व खेलाडी आन्द्रेस इनिएस्टालाई पनि भित्र्याउन लागिपरेको छ।
अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामी स्पेनिश क्लब बार्सिलोनाका पूर्व खेलाडी भित्र्याउँदै सशक्त टीम निर्माण गर्न लागिपरेको छ। गत महीना मात्र इन्टर मियामीले विश्वप्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीलाई भित्र्याएको थियो।
सर्वकालीन महान् खेलाडी मानिने मेस्सी बार्सिलोनाका पनि सर्वाधिक गोलकर्ता हुन्। मेस्सीसँगै बार्सिलोनाबाट खेलेका सर्जियो बुस्केट्सलाई पनि केही साताअघि इन्टर मियामीले भित्र्याइसकेको छ।
हाल इन्टर मियामी बार्सिलोनाका दुई पूर्व खेलाडी भित्र्याउन कोशिश गरिरहेको छ। तीमध्ये एक हुन्- स्पेनको राष्ट्रिय टोली तथा बार्सिलोनाका दिग्गज पूर्व खेलाडी आन्द्रेस इनिएस्टा। ३९ वर्षीय इनिएस्टा गत साता मात्रै जापानी क्लब भिसेल कोबीबाट बाहिरिएका थिए।
इनिएस्टाले तत्काल सन्यासबारे कुनै निर्णय गरेका छैनन्। यता, इन्टर मियामी बढ्दो उमेरका बावजूद उनलाई अनुबन्ध गर्न जुटेको मार्काले उल्लेख गरेको छ। इनिएस्टालाई साउदी अरेबियाबाट समेत खेल्न प्रस्ताव आएको बताइएको छ। यद्यपि साउदी अरेबियन क्लबको नाम भने खुलाइएको छैन।
बार्सिलोना छोडेपछि इनिएस्टा पछिल्लो पाँच वर्ष भिसेल कोबीमा आबद्ध थिए। इनिएस्टा तिनै खेलाडी हुन् जसले सन् २०१० को विश्वकप फाइनलमा निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाएका थिए।
यस्तै, इन्टर मियामीको दोस्रो सम्भावित खेलाडी ३४ वर्षीय लेफ्ट-ब्याक जोर्डी अल्बा हुन्। उनलाई भित्र्याउन क्लब छलफलमा जुटिसकेको छ। अल्बाले बार्सिलोनाका लागि पाँच ला लिगा र एक च्याम्पियन्स लिग जितेका छन्।